मधेसकी छोरी, देशकी उपसभामुख !
काठमाडौं। रुबीकुमारी ठाकुर- जेनजी आन्दोलन हुनु अघिसम्म कन्सलटेन्सीमा सामान्य काम गर्थिन्। रुबीका बुवा वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा छन्। आमा धनुषामा जग्गा भाडामा लिएर खेतीपाती गर्छिन्। तर समय फेरिएको छ। अब उनी देशको उपसभामुख बन्दैछिन्।
भोलि हुने उपसभामुख पदका लागि रुबी र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरस्वती लामाले उम्मेदवारी दर्ता गराएका छन्।
सम्भवतः भोलि रुबीलाई देशले नयाँ उपसभामुखका रुपमा पाउनेछ। रुबीलाई संघीय प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरिसकेको छ भने नेपाली कांग्रेस र नेकपा एमालेको पनि समर्थन रहने सम्भावना छ। यसो हुँदा श्रम संस्कृति पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी उनी सहजै उपसभामुख पदमा निर्वाचित हुनेछिन्।
प्रतिनिधिसभाको उपसभामुख बन्न १ सय ३८ जनाको समर्थन भए पुग्छ। तर रास्वपा एक्लैको १ सय ८२ र श्रम संस्कृतिको प्रतिनिधिसभामा ७ सिट रहेकाले उनलाई उपसभामुख निर्वाचित हुन कठिन छैन।
धनुषाको मुजेलिया स्थायी घर भएकी रुबी संघीय प्रतिनिधिसभाको सबैभन्दा कान्छो सदस्य समेत हुन्। योसँगै उनी अब इतिहासकै कान्छो उपसभामुख समेत बन्नेछिन्।
राजनीतिमा खासै चासो नभएको बताउने रुबीलाई जेन–जी आन्दोलनले श्रम संस्कृति पार्टीमा पुर्याइदियो। एक समय श्रम संस्कृति पार्टी राष्ट्रिय दल बन्ला कि नबन्ला भन्ने बहस हुन्थ्यो। श्रम संस्कृति पार्टी राष्ट्रिय दल मात्रै बनेन, प्रत्यक्षमा ३ सिट र समानुपातिकमा ४ सिट सुनिश्चित गर्यो। समानुपातिकमा जितेको चार सिटमा को–को आउलान् भन्ने चासोका बीच पार्टी अध्यक्ष हर्कराज राई साम्पाङले रुबी कुमारीको प्रतिनिधिसभा सदस्यको यात्रा सुनिश्चित गराइदिए।
के भन्छिन् रुबी ?
उपसभामुखमा उम्मेदवारी दिएपछि सिंहदरबारमा रुबीले सञ्चारकर्मीलाई दिएको प्रतिक्रिया:
‘हम्रा मधेसका आमाबुबा, दाजुभाइ, दिदीबहिनी सबैलाई धन्यवाद। हमरा चुनाल कियो, दिलसे सबैलाई धन्यवाद।
धेरै खुसी लागिराछ। सबैजनालाई धन्यवाद भनिराछु। उपसभामुख बन्छु भन्ने सोचेको थिइनँ। यो ‘सर्प्राइज’ भयो।
मलाई थाहा थिएन। म मधेसकी छोरी हुँ। सबैजनाले मधेसकी छोरीलाई अगाडि बढाउनुभयो। यही कारणले रास्वपाले मलाई समर्थन गरेको होला। मलाई समर्थन गर्ने सबै राजनीतिक दलहरूलाई म धन्यवाद भनिराछु।
अध्यक्षज्यूसँग पनि पहिले यो विषयमा कुरा भएको थिएन। मलाई यतिसम्म पुर्याइदिनुभएकोमा अध्यक्षलाई पनि धन्यवाद। म एउटा भुइँको मान्छेलाई अध्यक्षले यतिसम्म पुर्याइदिनुभयो। अहिलेसम्म अध्यक्षले फोन गर्नुभएको छैन, म गर्छु।
म धेरै खुसी छु। यो ठूलो जिम्मेवारी हो, तर म यसलाई पूरा गर्न सक्छु। म देशका लागि सबैथोक गर्छु। सधैं देशको साथ दिन्छु।’
