काठमाडौँमा लागुपदार्थ सेवन गरेर गाडी चलाउने छ जना प्रहरी नियन्त्रणमा
काठमाडौँ। चन्द्रागिरि नगरपालिका २ नागढुङ्गा चेक पोष्टमा लागुपदार्थ सेवन (लापसे) गरेर सार्वजनिक सवारीसाधन चलाउने छ जनालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।
यहाँ आज गरिएको जाँचमा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने ट्रक चालक चार जना, सार्वजानिक यात्रुवाहक सवारीसाधन (भाडाबस) चालक एक जना, माइक्रोबस चालक एक जना गरी छ जनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीसहितको सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले जाँच गर्दा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाइरहेको अवस्थामा उनीहरू समातिएका हुन् ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी प्रभाग नागढुङ्गा काठमाडौँ पठाइएको छ । यात्रु बोक्ने जस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी चलाउनु आफैँमा नियमविपरीत तथा दण्डनीय कार्य भएको पनि उहाँले बताउनुभयो ।
यसरी सवारीसाधन चलाउँदा चालकको मात्र नभई यात्रीहरूको जीवनसमेत जोखिममा पर्ने हुनाले आफू सवार सवारीसाधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।
