`

देशभर विपद्को जोखिम बढ्दै, ४३ घटनामा १३ जना घाइते

Nepal One HD १६ कार्तिक २०८३ २०:०६
समाचार

काठमाडौँ। देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन् ।ती घटनाबाट तीन चौपायामा क्षति पुग्नुका साथै रु नौ लाख ४० हजार बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न स्थानमा सर्पदंश, आगलागी, बाढी, पहिरो, अविरल वर्षा, हिमपात र जनावरको आक्रमणका घटना भएका हुन् ।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार सबैभन्दा बढी पहिरोका १७ घटना भएका छन् । त्यस्तै अविरल वर्षाका सात, आगलागी र बाढीका पाँच-पाँच, सर्पदंश र जनावरको आक्रमणका चार-चार तथा हिमपातको एउटा घटना भएका उहाँले जानकारी दिनुभयो ।

विपद्मा परी घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । विपद्का घटनाबाट भएको जनधनको क्षतिको थप विवरण सङ्कलन गर्ने कार्यसमेत जारी छ ।

प्राधिकरणले सम्भावित विपद्को जोखिमबाट बच्न अनावश्यक जोखिम नलिन, आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न र आवश्यक पूर्वतयारीमा रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *