`

अनेरास्ववियु महासचिवको चेतावनी : विधार्थी आन्दोलन नियन्त्रण गर्न खोजे सरकारले झुक्नुपर्नेछ

अञ्जना सिवाकोटी २७ चैत २०८२ १८:२८
अन्तर्वार्ता/बिचार

‘आज संयुक्त विद्यार्थी संगठनले तिनधारा पाठशाला मा आयोजना गरेको पत्रकार सम्मेलन केवल औपचारिक कार्यक्रम होइन । यो इतिहासको स्मरण, वर्तमानको मूल्यांकन र भविष्यप्रतिको स्पष्ट चेतावनी हो।

वि.सं. २००४ सालमा यही भूमिबाट सुरु भएको ‘जयतु संस्कृतम्’ आन्दोलन नेपाली विद्यार्थी आन्दोलनको पहिलो संगठित स्वर थियो। त्यो बेला राणाशासनको दमन, अभिव्यक्ति स्वतन्त्रताको अभाव र नागरिक अधिकारमाथिको नियन्त्रणका बीच पनि विद्यार्थीहरूले विद्रोहको बिगुल फुके। 

यही चेतनाको जगमा राणाशासन ढल्यो, पञ्चायती व्यवस्था अन्त्य भयो, बहुदलीय व्यवस्था स्थापना भयो र अन्ततः देश गणतन्त्रमा स्थपना गर्‍यो। त्यसैले तिनधारा पाठशाला केवल एउटा शिक्षालय होइन। यो परिवर्तनको आधारभूमि हो। लोकतन्त्रको उद्गमस्थल हो।

आज त्यही इतिहासको जगमा उभिएको वर्तमान सरकारले यदि विद्यार्थी संगठनको औचित्यमाथि प्रश्न उठाउने तिनलाई कमजोर पार्ने वा समाप्त गर्ने प्रयास गर्छ भने त्यो केवल संगठनमाथिको प्रहार होइन।यो संविधानको मर्म बिपरित , लोकतान्त्रिक मूल्य, संघर्षको इतिहास र जनअधिकारमाथिको आक्रमण हो।

हामी स्पष्ट रूपमा चेतावनी दिन चाहन्छौँ-

विद्यार्थी आन्दोलनलाई कमजोर बनाउने नियन्त्रण गर्ने वा खारेज गर्ने कुनै पनि प्रयास स्वीकार्य हुनेछैन। इतिहास साक्षी छ । जब राज्यसत्ता दमनकारी बन्छ।तब विद्यार्थीहरू उठ्छन्। र जब विद्यार्थीहरू उठ्छन्। तब सत्ता झुक्न बाध्य हुन्छ।

आजको आवश्यकता के हो भने, विद्यार्थी आन्दोलनलाई समयअनुकूल परिमार्जन गर्दै अझ जिम्मेवार, संगठित र प्रभावकारी बनाउनु हो। तर यसलाई समाप्त गर्ने, दबाउने वा यसको औचित्य नै समाप्त गर्ने सोच यदि कसैले राखेको छ भने, त्यो सोच स्वयं लोकतन्त्रविरुद्धको कदम हो।

अन्त्यमा, वर्तमान सरकारलाई स्पष्ट सन्देश विद्यार्थी संगठनहरूलाई कमजोर पार्ने निर्णय तुरुन्त फिर्ता गरियोस्। नत्र इतिहास दोहोरिन समय लाग्दैन। तिनधाराबाट उठेको आवाज फेरि एकपटक देशव्यापी आन्दोलनमा परिणत हुन सक्छ, र त्यसको जिम्मेवारी पूर्ण रूपमा राज्यसत्ताले नै वहन गर्नुपर्नेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *