`

एमबीबीएस सिट दिने निर्णयप्रति डा.गोविन्द केसीको आपत्ति,आन्दोलनको चेतावनी

Nepal One HD २९ चैत २०८२ १२:०३
जीवनशैली/स्वास्थ्य

काठमाडौं। चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसी ले जेनजी आन्दोलनमा घाइते युवतीलाई एमबीबीएस सिट उपलब्ध गराउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

शिक्षा मन्त्रालयले उक्त निर्णय नियमअनुसार भएको जनाएको भए पनि डा. केसीले त्यसलाई ‘गैरजिम्मेवारपूर्ण र आपत्तिजनक’ भन्दै तत्काल फिर्ता लिन माग गरेका हुन् ।

त्रिवि शिक्षण अस्पताल मा उपचाररत डा. केसीले चैत २८ गते जारी गरेको विज्ञप्तिमा बालेन्द्र शाह को निर्देशनमा भएको भनिएको उक्त निर्णयले राष्ट्रिय चिकित्सा शिक्षा ऐन र नियमावली उल्लंघन गरेको दाबी गरेका छन्।

उनले चिकित्सा शिक्षामा भर्ना प्रक्रिया ‘योग्यता क्रमसूची’का आधारमा मात्र हुनुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै, पठनपाठन सुरु भइसकेको अवस्थामा गरिएको यस्तो निर्णयले विधिको शासनलाई चुनौती दिएको बताएका हुन्।

डा. केसीले सरकारको कदमले चिकित्सा शिक्षा सुधारको मर्मविपरीत काम भएको आरोप लगाउँदै यसले कानुनप्रतिको सम्मान कमजोर बनाउने चेतावनी दिएका छन्।

उनले सरकार र सम्बन्धित निकायलाई कानुनी व्यवस्था पालना गर्न आग्रह गर्दै निर्णय फिर्ता नलिए पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

‘ऐनविपरीतको निर्णय र मन्त्रालयको अभिव्यक्ति फिर्ता नभए सत्याग्रहसहितका आन्दोलन सुरु गर्न बाध्य हुनेछौँ,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *