पाँचथरको अलपत्र विकासे आयोजनामा प्रधानमन्त्री बालेनसँग मागे आङ्देम्बेले बजेट
काठमाडौं । कांग्रेस सांसद भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई पाँचथरको अलपत्र परेका विभिन्न विकासे आयोजनाबारे ध्यानाकर्षण गराउँदै बजेट व्यवस्थापन गर्न माग गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत बुझाइएको ध्यानाकर्षण पत्रमा उनले राँके-रवि-६ नम्बर बुधबारे-भेडेटार सडक निर्माणमा भइरहेको ढिलासुस्तीप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।
उक्त सडक पूर्वी पहाडी क्षेत्रको यातायात सञ्जालका लागि अत्यन्त महत्वपूर्ण भएकाले निर्माण कार्यलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ।
आङदेम्बेले पाँचथरको सदरमुकाम फिदिममा यातायात कार्यालय स्थापना गर्न पनि माग गरेका छन्।
उनका अनुसार सो कार्यालयमार्फत सवारी दर्ता, नवीकरण, जाँचपास, रुट अनुमति तथा नयाँ लाइसेन्स वितरण सेवा सञ्चालन गर्न सकिन्छ ।
यसले पाँचथरसँगै ताप्लेजुङ, तेह्रथुम र इलामका केही क्षेत्रका नागरिकलाई सेवा सहज हुने उनले उल्लेख गरेका छन्।
त्यसैगरी, तुम्बेवा र कुम्मायक गाउँपालिकामा सञ्चालनमा रहेका तमोर लिफ्ट खानेपानी योजनाका उपभोक्तालाई विद्युत महसुल छुट दिन तथा सुख्खा क्षेत्रका लागि खानेपानी व्यवस्थापन गर्न आवश्यक बजेटको व्यवस्था गर्न पनि उनले सरकारसँग माग गरेका छन्।
सांसद आङदेम्बेले पाँचथरको तुम्बेवा, कुम्मायक, हिलिहाङलगायतका क्षेत्रहरूमा सुख्खा क्षेत्र ‘विशेष कृषि प्याकेज’ कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि बजेट विनियोजन गर्न आग्रह गरेका छन्।
उनले पाँचथरका दुई मोटरेबल पुल पुनर्निर्माणका लागि पनि सरकारको ध्यानाकर्षण गराएका छन्। बजेट शीर्षक नम्बर ३३७०११२२ अन्तर्गत पर्ने यी योजनामा फालेलुङ गाउँपालिकाको धर्मेटार-मुवाखोला पुल र फाल्गुनन्द गाउँपालिकाको निबुखोला पुल समावेश छन्।
मुवाखोला पुल २०८१ असारमा सम्पन्न भए पनि सोही वर्ष असोज १२ गते आएको बाढीले बगाएको थियो। त्यस्तै, निबुखोला पुल २०८२ जेठमा सम्पन्न भए पनि असोज १९ गतेको बाढीले क्षति पुर्याएको उल्लेख छ।
दुवै पुल प्राकृतिक विपत्तिका कारण क्षति भएको अवस्थामा डीएलपी अवधिमा निर्माण कम्पनीको दायित्व नपर्ने कानुनी व्यवस्था रहेको भन्दै आङदेम्बेले पुनर्निर्माणका लागि आवश्यक बजेट यही वर्षभित्र उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।


