मातातीर्थ औँसीमा शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने : ‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’
काठमाडौँ । मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा प्रधानमन्त्री बालेन शाहले सम्पूर्ण आमाहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै शुभकामना दिएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च हुने उल्लेख गरेका छन्।
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्ने शास्त्रीय वचन उद्धृत गर्दै उनले आमाको काख न्यानो र चरण तीर्थसरह पवित्र हुने बताएका छन्। सृष्टिको आधार आमाहरूलाई उनले माया र त्यागको अनुपम प्रतीकका रूपमा चित्रण गर्दै सबै आमाहरूको दीर्घायुको कामना गरेका छन्।
प्रधानमन्त्री शाहले आमालाई जीवनको पहिलो गुरु र अनन्त ममताको स्रोतका रूपमा सम्मान व्यक्त गरेका छन्। सन्तानका रूपमा आफ्ना कर्मले आमाहरूलाई सधैं गर्व महसुस गराउन सकियोस् भन्ने कामना गर्दै उनले भनेका छन्, ‘हामी सन्तानले आमालाई सधैं हँसाउन सकौँ र हाम्रो कर्मप्रति आमाले गर्व गर्न सकून्।’
शुभकामनामा उनले मातृभक्तिसँगै देशभक्तिको भावना पनि जोड्दै ‘हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’ भन्ने सन्देश दिएका छन्।
