५० शिशु र ६ वयस्कको शव अलपत्र फेला
एजेन्सी। क्यारेबियन राष्ट्र ट्रिनिडाड एन्ड टोबागोको राजधानी पोर्ट अफ स्पेनबाट करिब ४० किलोमिटर पूर्वमा रहेको कुमुटो क्षेत्रको एक चिहानमा सामूहिक रूपमा शव फेला परेको छ। शनिबार कम्तीमा ५० शिशु र ६ वयस्कका शव फालिएको अवस्थामा भेटिएको हो।
प्रहरीका अनुसार वयस्कमध्ये पाँच शवमा पहिचानका लागि प्रयोग हुने ट्याग लगाइएको पाइएको छ भने दुई शवमा पोस्टमार्टम गरिएको चिन्ह समेत देखिएको छ।
ट्रिनिडाड एन्ड टोबागो प्रहरी सेवाले यो घटना दाबी नगरिएका शवको गैरकानुनी विसर्जन हुन सक्ने आशंका गरेको छ। शव कहाँबाट ल्याइएको र कुन प्रक्रियामा त्रुटि भएको हो भन्नेबारे फरेन्सिक अनुसन्धान जारी रहेको जनाइएको छ।
सुरक्षा अधिकारी एलिस्टर गुभाराले घटनालाई अत्यन्तै गम्भीर र चिन्ताजनक भन्दै प्रत्येक शवको सम्मानजनक व्यवस्थापन हुनुपर्ने र दोषीलाई कडा कारबाही गरिने बताएका छन्।
गम्भीर अपराध र हिंसाको चुनौती सामना गरिरहेको अवस्थामा यो घटना सार्वजनिक भएको हो। उक्त देशमा २०२४ डिसेम्बरदेखि संकटकाल लागू छ भने सन् २०२४ मा मात्र ६२३ जनाको हत्या भएको तथ्यांक सार्वजनिक गरिएको छ। साथै सन् २०२३ मा उक्त देशलाई विश्वका उच्च जोखिमयुक्त राष्ट्रहरूमध्ये एकका रूपमा वर्गीकृत गरिएको थियो।
