गृहमन्त्री गुरुङमाथि छानबिन गर्न कांग्रेसको माग
काठमाडौं। गृहमन्त्री सुदन गुरुङमाथि उठेका प्रश्नहरूको छानबिन गर्न नेपाली कांग्रेसले माग गरेको छ। प्रतिपक्षी दल कांग्रेसले सोमबार विज्ञप्ति जारी गर्दै उक्त प्रकरणको निष्पक्ष निराकरण आवश्यक रहेको जनाएको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग सम्बन्धित कम्पनीमा गृहमन्त्री गुरुङको साझेदारी रहेको भन्दै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि विवाद चुलिएको छ। यद्यपि, गृहमन्त्रीले हालसम्म यस विषयमा सार्वजनिक रूपमा कुनै स्पष्ट प्रतिक्रिया दिएका छैनन्।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा यो विषय राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न भएको उल्लेख गरिएको छ। पदमा रहँदा अनुसन्धान प्रक्रियामा प्रभाव पर्ने आशंका रहने भएकाले स्वतन्त्र छानबिन आवश्यक रहेको कांग्रेसको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो। त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ’, विज्ञप्तिमा भनिएको छ,‘अतः नेपाली कांग्रेस सरकारसमक्ष स्पष्ट माग गर्दछ गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्।’
कांग्रेसले अनुसन्धानलाई प्रभावरहित बनाउन सम्बन्धित पदमा रहेकै अवस्थामा छानबिन अघि बढाउनुपर्नेमा जोड दिएको छ।
