बुन्डेसलिगाको उपाधि बायर्नलाई
काठमाडौं । बायर्न म्युनिख ले जर्मनीको शीर्ष डिभिजन बुन्डेसलिगा को उपाधि जितेको छ। गएराति सम्पन्न खेलमा स्टुटगार्ट लाई ४-२ ले पराजित गर्दै बायर्नले आफ्नो ३५औँ लिग उपाधि सुनिश्चित गरेको हो।
आलियान्ज एरिना मा भएको खेलमा सुरुआत भने स्टुटगार्टको पक्षमा रह्यो। खेलको २१औँ मिनेटमा क्रिस फ्युरिख ले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। तर त्यसपछि बायर्नले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो नियन्त्रणमा लियो।
राफायल गुएरेरो ले बराबरी गोल फर्काएपछि निकोलस ज्याक्सन ले टोलीलाई अग्रता दिलाए। पहिलो हाफमै अल्फोन्सो डेभिस ले अर्को गोल थप्दै बायर्नलाई ३-१ को अवस्थामा पुर्याए।
दोस्रो हाफमा ह्यारी केन ले आफ्नो सिजनको ३२औँ गोल गर्दै अग्रता ४-१ मा पुर्याए। खेलको अन्त्यतिर चेमा आन्द्रेस ले एक सान्त्वना गोल फर्काए पनि त्यसले खेलको नतिजा बदल्न सकेन।
यस जितसँगै बायर्नले पछिल्ला १४ सिजनमध्ये १३औँ पटक लिग उपाधि जित्ने उपलब्धि हासिल गरेको छ। यस सिजन टोलीले आक्रामक खेल प्रदर्शन गर्दै हालसम्म १०९ गोल गरेको छ भने केवल २९ गोल मात्र बेहोरेको छ।
टोलीका लागि केन, माइकल ओलिसे र लुइस डियाज ले संयुक्त रूपमा ५९ गोल गर्दै बायर्नको आक्रमणलाई अत्यन्त बलियो बनाएका छन्।
यो जितसँगै बायर्नको ‘ट्रेबल’ (तीन उपाधि) जित्ने सम्भावना पनि जीवितै छ। अब उसले जर्मन कपमा बायर लेभरकुसेन र पेरिस सेन्ट जर्मेन विरुद्ध च्याम्पियन्स लिगको सेमिफाइनल खेल खेल्नेछ।
