विद्यार्थी संगठनमाथि प्रहार: लोकतन्त्रको मेरुदण्डमाथि चोट
काठमाडाैं। नेपालका क्याम्पस र विश्वविद्यालय केवल शिक्षा दिने स्थान होइनन्, ती चेतना, नेतृत्व र परिवर्तन जन्माउने पाठशाला हुन्। यही पाठशालाको मेरुदण्ड भनेको विद्यार्थी संगठन हो। इतिहास साक्षी छ- २०३६ सालको जनमत संग्रह, जनआन्दोलन २०४६ देखि २०६२/६३ सम्मका हरेक राजनीतिक, व्यवस्था र शैक्षिक परिवर्तनमा विद्यार्थी आन्दोलनमा अग्रपंक्तिमा उभिएको थियो।
विधार्थी संगठनहरु संघर्षको भट्टीबाट जन्मिएका हुन्। जसलाई निर्दलीय पंचायतले पनि अंकुश लगाउन सकेको थिए। जतिबेला देशमा कुनै पनि राजनीतिक दल थिएनन्, त्यही बेला विधार्थी संगठनहरु बादल मडारिएको नेपाली राजनीतिक आकाशमा चेतनाको बिगुल फुक्दै स्थापित भएका हुन्। त्यसरी स्थापित संगठनहरुलाई वर्तमान सरकारले निषेध गर्न खोज्यो भने त्यो उसैको लागि घातक हुन सक्छ।
आज यदि कुनै शक्ति विश्वविधालयबाट विद्यार्थी संगठनलाई कमजोर पार्ने वा समाप्त गर्ने प्रयास गर्छ भने त्यो केवल संगठनमाथिको प्रहार होइन, लोकतन्त्रको भविष्यमाथिको सिधा हमला हो। नेतृत्व कहिल्यै कागजमा जन्मिँदैन, त्यो संघर्षको मैदानबाट जन्मिन्छ र त्यो मैदान विश्वविधालय हो।
विद्यार्थी संगठनलाई दबाएर आवाज दबिँदैन। बरु जति दबाउने प्रयास हुन्छ, त्यति नै बलियो प्रतिरोध जन्मिन्छ। जहाँ संगठन हुन्छ, त्यहाँ प्रश्न हुन्छ। र, जहाँ प्रश्न हुन्छ, त्यहाँ जवाफदेहिताको दबाब हुन्छ। यही नै लोकतन्त्रको आत्मा हो।
यदि कसैले विद्यार्थी संगठन हटाउन खोज्छ भने त्यसले स्पष्ट हुन्छ की शासकहरु आवाजदेखि डराइरहेका छन्। उनीहरू नयाँ पुस्ताको परिवर्तनको चेतनादेखि डराएका छन्। हामी स्पष्ट छौं, प्रत्येक क्याम्पसमा विद्यार्थी संगठन र विधार्थी राजनीति अनिवार्य रूपमा रहनुपर्छ। यो अधिकार मात्र होइन, लोकतन्त्रको आधार हो। संविधानले नै संगठन गर्न पाउने अधिकारको प्रत्याभुती गरेको छ। संविधानले नै प्रत्याभूत गरेको अधिकारमा कुनै पनि सरकार र कुनै पनि शासकले अंकुश लगाउन सक्दैन।
सरकारलाई हाम्रो आग्रह छ। विधार्थी संगठनहरुसँग सहकार्यको वातावरण तयार गर्नुहोस्। हामी सरकारलाई रचनात्मक कार्यक्रम र राजनीतिमार्फत सहयोग गर्न तयार छौँ। त्यसका लागि सरकारले समन्वयकारी भूमिका खेलोस्।
हामी सरकारलाई चेतावनी दिन चाहन्छौँ। विद्यार्थी संगठनमाथिको हस्तक्षेप तुरुन्त फिर्ता गरियोस्। नत्र, यही क्याम्पसबाट अझ शक्तिशाली नेतृत्व जन्मिनेछ, जसलाई रोक्न कसैको बसमा हुनेछैन।
हामी मौन पुस्ता होइनौं। हामी इतिहास लेख्ने पुस्ता हौं।
