दोस्रो टि-२० मा नेपाल ८ विकेटले विजयी
काठमाडौँ । यूएईविरुद्धको टी-२० आई सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेटको सहज जित निकालेको छ।
१ सय २९ रनको लक्ष्य पछ्याएको नेपालले १५ दशमलव ५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। जितका नायक बने कुशल भुर्तेल, जसले ५७ बलमा अविजित ८४ रन प्रहार गर्दै टोलीलाई सहज जित दिलाए। कप्तान दिपेन्द्र सिंह ऐरीले पनि १७ बलमा अविजित २३ रन बनाउँदै भुर्तेललाई साथ दिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ८ विकेट गुमाएर १२८ रन बनाएको थियो। यूएईका लागि आकाशदीप नाथले ४२ बलमा अविजित ५३ रन बनाए भने मुहम्मद अर्फानले ३२ र अदिप उस्मानीले ३० रनको योगदान दिए।
नेपालका बलरहरू प्रभावशाली देखिए। सन्दीप लामिछानेले ४ ओभरमा १ मेडन राख्दै मात्र ६ रन खर्चेर ३ विकेट लिए। हेमन्त धामीले २ विकेट झारे भने नन्दन यादव र शहाब आलमले समान १-१ विकेट लिए।
यसअघि सोमबार भएको पहिलो खेलमा भने नेपाल पराजित भएको थियो। वर्षाले प्रभावित भएर १० ओभरमा झारिएको खेलमा ७८ रनको लक्ष्य यूएईले ८ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै ६ विकेटको जित निकालेको थियो।
दोस्रो खेलमा शानदार जितसँगै नेपालले दुई खेलको सिरिज १-१ को बराबरी गरेको छ।
