थापाथली सुकुम्बासी बस्तीका घर खाली गर्न प्रहरीले गर्यो माईकिङ(भिडियो)
काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासी बस्ती शनिबार हटाउन प्रहरीले माईकिङ गरेको छ । वैशाख ११ गते साँझ सात बजेसम्म घर तथा टहरा खाली गरिसक्न भन्दै प्रहरीले आज माईकिङ गरेको हो।
बस्ती हटाएपछि त्यहाँका सुकुम्बासीहरुलाई लजमा राखेर व्यवस्थापन गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले काठमाडौं महानगरलाई निर्देशन दिएका छन्।
शाहले तत्कालका लागि सुकुम्बासीहरूलाई अस्थायी रूपमा लजमा राख्ने र त्यसको सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनका अनुसार लजमा राखेपछि उनीहरूको अभिलेख संकलन र प्रमाणीकरणको काम अघि बढाइने योजना छ।
यस निर्देशन कार्यान्वयनका लागि प्रहरीले काठमाडौं महानगरसँग नगर प्रहरी, डोजर लगायतका आवश्यक स्रोतसाधन माग गरेको स्रोतले जनाएको छ। साथै, शुक्रबारदेखि नै बस्ती क्षेत्रमा माइकिङ गरेर सूचना दिन पनि आग्रह गरिएको छ।
यसैबीच, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुम्बासी बस्ती हटाउने विषय आफ्नो जानकारीमा आएको बताएकी छन्। उनले थापाथली क्षेत्रका सम्बन्धित वडाध्यक्षहरू तथा महानगर प्रहरी प्रमुख विष्णु जोशीसँग छलफल भइरहेको जानकारी दिएकी छन्।
शाहले सुकुम्बासी बस्ती हटाउन सुरक्षा निकायलाई निर्देशन दिएका थिए । बुधबार उनले नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर यस्तो निर्देशन दिएका हुन्। स्रोतका अनुसार आगामी शनिबार र आइतबारभित्र बस्ती खाली गराउन भनिएको छ।
