`

निलम्बन फिर्ता गर्न राखेपलाई फिफा र एएफसीको अल्टिमेटम

Nepal One HD ११ वैशाख २०८३ १२:३८
खेलकुद

काठमाडौं। फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई अखिल नेपाल फुटबल संघ (एन्फा) सम्बन्धी निर्णय फिर्ता लिन मे ४ (वैशाख २१) सम्मको समय दिएको छ।

दुवै निकायले राखेपले गत वर्ष चैत ११ गते गरेको निर्णय एन्फाको स्वायत्ततामा हस्तक्षेप हुने भन्दै उक्त निर्णय खारेज गर्न आग्रह गरेका हुन्। तहगत निर्वाचन र निर्देशनहरू पालना नगरेको भन्दै राखेपले एन्फालाई तीन महिना निलम्बन गरेको थियो, जसका कारण एन्फाको चैत १३ गते हुने भनिएको निर्वाचन स्थगित भएको थियो।

फिफा र एएफसीले तोकिएको समयभित्र निर्णय फिर्ता नभए परिस्थिति थप जटिल हुन सक्ने चेतावनी दिएका छन्। साथै, निर्णय फिर्ता भएमा सबै सरोकारवालासँग रचनात्मक संवादमार्फत समाधान खोज्न तयार रहेको पनि उनीहरूले स्पष्ट पारेका छन्।

यसअघि राखेपले एन्फालाई निर्वाचन प्रक्रिया रोक्न, विधानका केही प्रावधान संशोधन गर्न तथा जिल्ला फुटबल संघहरूलाई पनि आफ्नो विधानअनुसार निर्वाचनमार्फत साधारणसभा गर्न निर्देशन दिएको थियो।

यसैबीच, गत अप्रिल १३ मा राखेप, एन्फा, फिफा र एएफसीबीच एन्फाको वर्तमान अवस्थाबारे अनलाइन बैठक भए पनि कुनै निष्कर्ष निस्किएको थिएन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *