`

राजीनामा दिएपनि सुधनको सचीवालयले चलाइरहेको छ गृहमन्त्रालय

Nepal One HD १४ वैशाख २०८३ १२:२९
बिशेष

काठमाडौं । गृहमन्त्रीबाट सुधन गुरुङले राजीनामा दिएको छैटौँ दिन पूरा भएको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग साझेदारी र सेयर कारोबार गरेको आरोपलगत्तै बढेको आलोचनापछि उनले वैशाख ९ मा गृहमन्त्री पद छोडेका थिए।

गत चैत १३ मा गृहमन्त्री बनेका गुरुङ २७ दिनमै पदत्याग गरी मन्त्रालयबाट बाहिरिएका हुन्। हाल गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहले सम्हालिरहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा गुरुङको राजीनामा स्वीकृत गर्दै कार्यभार प्रधानमन्त्री नै सम्हाल्ने व्यवस्था गरेका हुन्।

तर, गृहमन्त्री पद रिक्त रहे पनि मन्त्रालय भने निवर्तमान मन्त्री गुरुङकै टिमले चलाइरहेको देखिन्छ। उनका स्वकीय सचिव जेम्स कार्की गृह मन्त्रालयमै सक्रिय छन्। गृह मन्त्रालयका प्रवक्ता तथा शान्ति–सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्लेको कार्यकक्ष नजिकै कार्कीको कक्ष छ, र शुक्रबार दिनभर उनी त्यहीँ काममा व्यस्त थिए।

कार्की गत चैत १९ मा गुरुङका स्वकीय सचिवमा नियुक्त भएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका उनी यसअघि प्रधानमन्त्री शाहकै सचिवालयमा अनौपचारिक रूपमा काम गर्थे र शाहका निकट व्यक्ति मानिन्छन्। गुरुङले राजीनामा दिए पनि कार्की मन्त्रालयमै बसेर मन्त्रालय मातहत रहेका निकायसँग ‘ब्रिफिङ’ लिने, निर्देशन दिने लगायतका काम गरिरहेको कर्मचारीहरू बताउँछन्।

गृह मन्त्रालयका एक सहसचिवका अनुसार कार्कीले आफ्नो कक्षमा कर्मचारी तथा सुरक्षा अधिकारीलाई बोलाएर नियमित रूपमा ‘टिपोर्टिङ’ लिँदै आएका छन्। मन्त्री पदको कार्यभार प्रधानमन्त्रीले सम्हाले पनि व्यावहारिक रूपमा मन्त्रालय संचालन गुरुङकै टिमले गरिरहेको उनीहरूको आरोप छ।

गुरुङ पदबाट बाहिरिएपछि गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले एक मात्र निर्णय गरेको छ। वैशाख १० मा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जस्थित ११४ रोपनी ३ आना जग्गा पूर्ववत् रूपमा प्रतिष्ठानकै स्वामित्वमा रहने निर्णय गरेको हो। २०७५ सालमा उक्त जग्गा राष्ट्रपतिको कार्यालयलाई दिने निर्णय भएको थियो।

यसबीच, गुरुङमाथि छानबिन गर्ने र निर्दोष देखिए पुनर्वहाली सम्भावना खुला राख्ने संकेत प्रधानमन्त्री शाहले दिइरहेका छन्। गुरुङले राजीनामापछि सामाजिक सञ्जालमार्फत छानबिन गर्न माग गरेका थिए।

प्रधानमन्त्रीको सचिवालयका अनुसार पार्टीले नयाँ नाम सिफारिस नगरेसम्म गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री शाहले नै सम्हालिरहने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *