मक्सको कम्पनी एक्सले ल्यायो ‘एक्सच्याट’
काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म एक्सले मेसेज आदानप्रदानका लागि आफ्नो छुट्टै एप ‘एक्सच्याट’ सार्वजनिक गरेको छ। शुक्रबारदेखि सर्वसाधारणका लागि उपलब्ध गराइएको यो एप हाल आईओएस प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ।
नयाँ एपमार्फत प्रयोगकर्ताले आफ्ना एक्स कन्ट्याक्टसँग कुराकानी गर्न, फाइलहरू आदानप्रदान गर्न, अडियो तथा भिडियो कल गर्न र समूह च्याट सञ्चालन गर्न सक्नेछन्। कम्पनीले यसअघि सानो प्रयोगकर्ता समूहमा यसको बेटा परीक्षण गरेको थियो।
एक्सच्याटको सुरुवात कम्पनीको दीर्घकालीन रणनीतिक योजनाको हिस्सा मानिएको छ। एक्सले आफ्नो प्लेटफर्मलाई मेसेजिङ र भुक्तानीजस्ता सेवाका लागि आधार बनाउने योजना अघि सारेको छ। भुक्तानी सेवाका लागि पनि छुट्टै एप परीक्षण भइरहेको भए पनि हालसम्म सार्वजनिक गरिएको छैन।
यो कदम एलन मस्कको पहिलेको ‘एभ्रिथिङ एप’ योजनाभन्दा फरक देखिन्छ, जहाँ मेसेज, भुक्तानी, क्रियटर कन्टेन्ट, शपिङ र एआई सेवा एउटै प्लेटफर्ममा ल्याउने लक्ष्य राखिएको थियो। अहिले भने एक्सएआईमार्फत छुट्टाछुट्टै एप संरचना अघि बढाइएको छ।
एक्सच्याटमा मेसेज सम्पादन र मेटाउने सुविधा, डिसअपियरिङ मेसेज, र स्क्रिनसट ब्लक गर्ने जस्ता सुरक्षा सुविधा छन्। कम्पनीले यसमा विज्ञापन वा प्रयोगकर्ता ट्र्याकिङ नरहेको दाबी गरेको छ। सबै मेसेज ‘इन्ड–टु–इन्ड इन्क्रिप्टेड’ र पिनद्वारा सुरक्षित हुने बताइएको छ।
तर सुरक्षा विज्ञहरूले यसको इन्क्रिप्सन दाबीमाथि प्रश्न उठाउँदै यसलाई सिग्नलजस्ता एपभन्दा कम सुरक्षित हुन सक्ने चेतावनी दिएका छन्। अब एप व्यापक रूपमा प्रयोगमा आएपछि यसको सुरक्षा पक्ष पुनः मूल्यांकन गरिने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार एक्सच्याट भविष्यमा एक्सको कम्युनिटिज फिचरको मुख्य प्लेटफर्म पनि बन्नेछ। मुख्य एपमा कम्युनिटिज बन्द भएपछि प्रयोगकर्तालाई यहाँ सारिएको हो।
एक्सका प्रमुख डिजाइनर बेन्जी टेलरका अनुसार यो केवल सुरुवात हो र आगामी दिनमा मेसेजिङ सेवामा थप नयाँ सुविधाहरू जोडिनेछन्। एन्ड्रोइड संस्करण कहिले आउने भन्ने विषयमा भने कम्पनीले स्पष्ट जानकारी दिएको छैन।
