नेपालको लगातार तेस्रो जीत
काठमाडौं । आइसिसी महिला टी-२० च्यालेन्ज ट्रफी २०२६ मा नेपालले आफ्नो तेस्रो जित दर्ता गरेको छ। मंगलबार सम्पन्न खेलमा नेपालले घरेलु टोली रवाण्डालाई ३८ रनले पराजित गरेको हो।
किगालीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १०३ रन बनायो। जवाफमा रवाण्डा १७.४ ओभरमै ६५ रनमा अलआउट भयो।
नेपालका लागि कप्तान इन्दू बर्माले उत्कृष्ट प्रदर्शन गर्दै ४५ बलमा ४ चौकासहित नटआउट ३३ रन बनाइन्। कविता कुँवरले २४ रन, रूबिना क्षेत्रीले ११ रन जोडिन् भने अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन्।
बलिङतर्फ रवाण्डाकी हेनरिटेले ३ विकेट लिइन् भने बिमेन्यिमानाले २ विकेट हात पारिन्। रवाण्डाका लागि कप्तान बिमेन्यमनाले सर्वाधिक १९ रन बनाए पनि अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
नेपालका लागि बलिङमा मनिषा उपाध्यायले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १० रन मात्र खर्चेर ३ विकेट लिइन् र १ मेडन ओभर पनि फ्याँकिन्। कविता कुँवर, रचना चौधरी र रिया शर्माले २-२ विकेट लिए।
यो प्रतियोगितामा नेपालले हालसम्म ६ खेलमा ३ जित दर्ता गरेको छ। नेपालले इटाली र रवाण्डाविरुद्धका खेलहरू जितेको हो भने अमेरिकासँग दुवै खेलमा पराजित भएको छ। भानुआटुसँग पनि नेपाल पराजित भएको थियो।
अब नेपालले इटाली र भानुआटुसँग थप खेल खेल्न बाँकी छ। हालको अंक तालिकामा नेपाल ६ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा रहेको छ।
शीर्ष स्थानमा अमेरिका ६ खेलबाट १० अंकसहित रहेको छ। रवाण्डा ७ खेलबाट ८ अंकसहित दोस्रो स्थानमा छ। इटाली ५ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ भने भानुआटु ६ खेलबाट २ अंकसहित पाँचौँ स्थानमा रहेको छ।
