तपाईंको व्हाट्सएप ह्याक भएको छ ? यसरी रिकभर गर्नुहोस्
काठमाडौं । व्हाट्सएप आज विश्वभर सबैभन्दा प्रयोग हुने म्यासेजिङ प्लेटफर्म हो । यही कारणले यसलाई ह्याकर र स्क्यामरहरूले बारम्बार निशाना बनाउने गरेका छन् । अकाउन्ट ह्याक भएमा अनधिकृत म्यासेज जान सक्छ, व्यक्तिगत गोपनीयता भंग हुन सक्छ, पहिचानको दुरुपयोग हुन सक्छ र कहिले काहीँ आर्थिक ठगी समेत हुन सक्छ ।
व्हाट्सएप खाता ह्याक भएको अवस्थामा प्रयोगकर्ताले तुरुन्तै एप पुनः इन्स्टल गरी आफ्नो फोन नम्बर प्रयोग गरेर लगइन गर्नुपर्छ। यसले अनधिकृत प्रयोगकर्तालाई स्वतः प्रणालीबाट बाहिर निकाल्नेछ। लगइन गर्दा आउने ६ अङ्कको भेरिफिकेशन कोड कुनै पनि व्यक्तिसँग साझा गर्नु हुँदैन।
यदि टु स्टेप भेरिफिकेसन सक्रिय छ भने पिन मागिनेछ। यस्तो अवस्थामा रिकभरी इमेल प्रयोग गरी फर्गट पिन विकल्पबाट पासवर्ड रिसेट गर्न सकिन्छ। कतिपय अवस्थामा सुरक्षा प्रक्रिया अनुसार सात दिनसम्म कुर्नुपर्ने पनि हुन सक्छ।
सिम स्वापको शंका भएमा तुरुन्तै सम्बन्धित मोबाइल सेवा प्रदायकसँग सम्पर्क गर्न आवश्यक हुन्छ।
खाता पुनः प्राप्त भएपछि लिंक डिभाइस सेक्शन जाँच गरी अज्ञात वा अनधिकृत डिभाइसहरू हटाउनुपर्छ। साथै शंकास्पद प्रयोगकर्तालाई ब्लक गर्न र आफ्ना सम्पर्कहरूलाई जानकारी दिन सिफारिस गरिन्छ।
सुरक्षाका लागि टू स्टेप भेरिफिकेसन अनिवार्य रूपमा सक्रिय गर्नुपर्ने तथा फोनमा मालवेयर स्क्यान गर्नुपर्ने सुझाव दिइन्छ। व्हाट्सएपले खाताको विस्तृत पहुँच विवरण नदिए पनि प्रयोगकर्ताका च्याटहरू सुरक्षित रहने जनाएको छ।
