ओमानसँग नेपाल १०२ रनले पराजित
काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानसँग पराजय व्यहोरेको छ। कीर्तिपुरस्थित टियु मैदानमा वर्षाले प्रभावित खेलमा नेपाल डिएलएस विधिमा १०२ रनले पराजित भयो।
३०६ रनको लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा ७ विकेट गुमाउँदै १५५ रन मात्रै जोड्न सक्यो। नेपालका दीपेन्द्र सिंह ऐरीले ६० रनको उत्कृष्ट अर्धशतकीय पारी खेले पनि अन्य बल्लेबाजले उल्लेखनीय योगदान दिन सकेनन्। भीम सार्कीले २८, आसिफ शेखले १९, आरिफ शेख र गुलशन झाले १४–१४ रन तथा कप्तान रोहित पौडेलले १० रन बनाए। प्रारम्भिक जोडी कुशल भुर्तेल र बसिर अहमद भने १–१ रनमै आउट भए।
ओमानका नदिम खानले ३ विकेट लिए भने शकिल अहमदले २ तथा वसिम अली र मुहम्मद इमरानले १–१ विकेट हात पारे।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रनको विशाल योगफल बनायो। कप्तान जतिन्दर सिंहले ९६ बलमा १५ चौका र ५ छक्कासहित १३० रनको शानदर शतकीय इनिङ्स खेले। यस्तै, जितेन रमानन्दीले ४३, आर्यान बिश्टले ३५, हम्माद मिर्जाले ३० तथा विनायक शुक्ला र आशिष ओडेदाराले २३–२३ रन जोडे।
नेपालका बलर सोमपाल कामी सर्वाधिक सफल रहे, उनले ४ विकेट लिए। सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट हात पारे।
नेपालले श्रृंखलाको पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो भने ओमान भने यूएईसँग २५ रनले पराजित भएको थियो।
