`

‘इल्लुमिनाटी’- के संसार चलाइरहेछ?

समीन बरुवाल १७ वैशाख २०८३ १८:५०
बिशेष

‘इल्लुमिनाटी’ एक यस्तो विषय हो, जुन रहस्य र विवादले घेरिएको छ। यो एक गोप्य संगठनको रूपमा चिनिन्छ, जसलाई केही मानिसहरूले संसारका सबैभन्दा शक्तिशाली संस्थाहरू मध्ये एक मान्छन् ।  इल्लुमिनाटीका बारेमा धेरै मिथक सिद्धान्त र कथाहरू छन्, जसले  इल्लुमिनाटीलाई अझै रहस्यमय बनाउँछ। 

इल्लुमिनाटीको बारेमा धेरैले सुनेको हुनसक्छ।  इल्लुमिनाटीको बारेमा समय–समयमा मानिसहरूमा भ्रम फैलाइन्छ, तर वास्तवमा इल्लुमिनाटी छ वा छैन भन्ने कुरा पुष्टि भएको छैन ।

यस संगठनको सुरुवात जर्मनीको बाभेरिया सहरबाट भएको मानिन्छ । एक प्रसिद्ध प्रोफेसर तथा दार्शनिक एडम वीशाउप्टले यसको आधारशिला राखेका थिए। 

पढाइपछि एडम प्रोफेसर बनेर युनिभर्सिटी अफ इन्गोलस्टाटमा अध्यापन गर्न थाले। सामान्य जीवन बिताइरहेका विवाहित प्रोफेसर भित्रभित्रै के गरिरहेका थिए भन्ने कुरा कसैलाई थाहा थिएन।

एडमलाई विश्वास थियो कि चर्च र क्याथोलिक विचारका कारण समाज स्वतन्त्र रूपमा बाँच्न सकिरहेको छैन। यही कारण उनले धर्मका बन्धनबाट मुक्त एउटा समाज बनाउने योजना बनाए। त्यसैसँगै इल्लुमिनाटी नामक सिक्रेट समूहको स्थापना भयो। 

मे १७७६ मा  इल्लुमिनाटीको पहिलो मिटिङ भयो, जसमा प्रोफेसरसहित युनिभर्सिटीका ५ जना सदस्य थिए भन्ने मिथ छ । छिट्टै यसको सदस्य संख्या बढ्दै गयो। सन् १७८४ सम्म आइपुग्दा करिब यसमा ३००० सदस्य पुगे।

सुरुमा इल्लुमिनाटीलाई हानिरहित संगठन मानिएको थियो, तर पछि यसको अनौठा विचारहरू बाहिर आउन थाले।  कठिन परिस्थितिमा सुसाइड उचित विकल्प हो भन्ने वैचारिकी संगठनले विकास गर्दै थियो।  यसका सदस्यहरूले गल्ती गर्नेहरूलाई डेथ पेनाल्टी दिनुपर्छ भन्ने मान्यता राख्थे। साथै, धर्ममा विश्वास गर्नेहरूलाई मूर्ख मानिन्थ्यो र उनीहरूलाई सजाय दिनुपर्ने भनिन्थ्यो। यस्ता कुराहरू सार्वजनिक भएपछि यस संगठनमाथि नियन्त्रण गर्न थालियो।

छानबिनका क्रममा इल्लुमिनाटीका सदस्यहरूको घरबाट गोप्य रूपमा प्रयोग गरिने इन्भिजिबल इन्क बरामद गरिएको थियो। उक्त इन्भिजिबल इन्कआपत्तिजनक सामग्री फैलाइन्थ्यो। त्यो क्रममा सुसाइडलाई प्रोत्साहन गर्ने लिटरेचर तथा विभिन्न एजेन्डासम्बन्धी कागजातहरू पनि फेला परेका थिए। 

त्यतिबेला विश्वका धेरै देशहरूमा एबोर्शन प्रतिबन्धित थियो। तर यस संगठनसँग एबोर्शनलाई प्रोत्साहन गर्ने सामग्री र उपकरणहरू समेत भेटिएको बताइन्छ। त्यसपछि सरकारले  इल्लुमिनाटी संगठनमा संलग्न हुनेहरूलाई मृत्युदण्डसम्मको सजाय दिने आदेश जारी गर्‍यो।

संगठनका फाउन्डर एडमलाई युनिभर्सिटीबाट निकालियो। पछि उनले अन्यत्र अध्यापन गर्दै अपेक्षाकृत शान्त जीवन बिताए। तर त्यसपछि पनि संसारभर हुने विभिन्न हत्या वा घटनाहरूका पछाडि यही सिक्रेट समूहको हात रहेको भन्ने विश्वास गरिन्थ्यो।

सन् १९६३ मा अमेरिकाका प्रेसिडेन्ट जोन एफ केनेडीको हत्या पछाडि पनि यसै संगठनको संलग्नता रहेको दाबी गरिन्छ। २२ नोभेम्बर १९६३ मा भएको उक्त हत्या आजसम्म पनि अमेरिकी इतिहासको ठूलो रहस्य बनेको छ।

विभिन्न अनुसन्धान भएपनि वास्तविक दोषी को हो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। हत्या हुनुअघि एक सस्पिसियस महिलालाई हातमा क्यामेरा जस्तो पिस्टल बोकेको अवस्थामा देखिएको भनिन्छ।  जो घटना लगत्तै गायब भइन्। 

आजसम्म पनि ती महिला को थिइन्, कहाँबाट आएकी थिइन् भन्ने कुरा पत्ता लागेको छैन। केही संगठनहरूको विश्वास अनुसार गोप्य रूपमा सञ्चालन भइरहेको इल्लुमिनाटी समूह नै यस घटनाको कारण हुन सक्छ। र, त्यो रहस्यमयी महिला पनि  इल्लुमिनाटीसँग सम्बन्धित थिइन्।

अहिलेपनि इल्लुमिनाटीलाई षड्यन्त्रकारी संगठनका रूपमा प्रसिद्ध मानिन्छ। यसलाई नयाँ विश्व व्यवस्थाको संकेत मानिन्छ। र, यथेष्ट आधार पुष्टि नभएपनि यसैले नयाँ विश्व व्यवस्था परिवर्तनको गहिरो तयारी गरिरहेको बताइन्छ। 

धेरै देशहरूमा सरकार तथा विभागहरूलाई अदृश्य रूपमा  इल्लुमिनाटीले सञ्चालन गर्छ भन्ने मान्यता छ। सबै निर्णयहरू यस्तो रूपमा संचालित हुन्छन्, जसले व्यवस्था परिवर्तनको संकेत दिन्छ। 

इल्लुमिनाटी आफ्ना सबै एजेन्डा गोप्य रूपमा चलाउँछ। धेरै ठूला सेलिब्रिटी, सरकारहरू तथा विभिन्न संस्थाहरूले यस्ता गोप्य एजेन्डाहरूलाई पछ्याउँछन् भन्ने  समेत भनाइ छ।

इल्लुमिनाटीसँग सम्बन्धित मानिसहरू शैतानका पूजक हुन्छन् भनिन्छ। इल्लुमिनाटी बाफोमेट, लुसिफर र शैतानलाई आफ्नो भगवान मान्छन्।  जो मानिसहरू इल्लुमिनाटीका सदस्य हुन्छन्, उनीहरूले आफ्नो आत्मा शैतानलाई बेचिदिन्छन्। बदलामा उनीहरूलाई प्रसिद्धि र उनीहरूले चाहेका सबै कुरा प्राप्त हुन्छ।  

यस संगठनका सदस्यहरूले समय-समयमा प्रतीकहरूको माध्यमबाट आफू इल्लुमिनाटीसँग जोडिएको संकेत दिन्छन्।  सेलिब्रिटीहरूले छोटो समयमा प्रसिद्धि प्राप्त गरे भने इल्लुमिनाटीकै कारण  पाएको  मानिन्छ। यी कलाकारहरूले आफ्नो प्रस्तुति वा काममा इल्लुमिनाटीका प्रतीकहरूको प्रयोग गर्छन्। यी प्रतीकहरूमा हातले ट्रायाङ्गल बनाउने, आँखाको चिन्ह, ६६६ नम्बर र बाफोमेटको संकेत आदि समावेश छन्। 

धेरै लेखक र विशेषज्ञहरूले यसबारे धेरै लेख प्रकाशित गरेका छन्। धेरै देशहरूमा यस्ता समूहहरू रहेको मानिन्छ। हलिउडको म्युजिक इन्डस्ट्री पनि यसबाट अछुतो छैन।  धेरै पप स्टारहरू यसका सदस्य छन्। र, यसको एजेन्डामा काम गर्छन्। साथै, हलिउडका धेरै फिल्महरू इल्लुमिनाटीबाट प्रभावित भएर बनाइएका छन्।

‘घोस्ट राइडर’ फिल्ममा नायकले आफ्नो आत्मा बेचेर अरूको आदेशमा काम गर्छ भन्ने देखाइएको छ। भनिन्छ- इल्लुमिनाटीका मानिसहरू आफ्नो पहिचान लुकाएर वा भूमिगत बंकरहरूमा बसेर संसार चलाउने प्रयास गरिरहेका छन्।

आजको इन्टरनेट युगमा यस्ता धेरै भिडियो र लेखहरू देखाइन्छ। जसमा सेलिब्रिटी र नेताहरूलाई इल्लुमिनाटीसँग जोडेर देखाइन्छ। केहीले त केही सेलिब्रिटीहरूले आफू इल्लुमिनाटीका सदस्य भएको स्वीकार गरेको दाबी गर्छन्, तर यसको कुनै आधिकारिक पुष्टि छैन। साथै, केही व्यक्तिहरूलाई इल्लुमिनाटीले बनाएको र नमान्दा उनीहरूको हत्या गरिएको पनि भनिन्छ, तर यो पनि प्रमाणित छैन।

भनिन्छ, यसका सदस्यहरू साधारण व्यक्ति हुँदैनन्। यो संगठनले आफैं योग्य व्यक्तिहरू छनोट गर्छ। जो समाजमा यति प्रभावशाली हुन्छन् कि उनीहरूलाई देखेर धेरै मानिसहरू आकर्षित हुन्छन्। उनीहरूको प्रसिद्धि प्राप्त गर्न चाहन्छन्।

यो संगठनले मानिसहरूलाई आफैं बोलाएर सदस्य बनाउँछ। जो चाह्यो त्यस्तो सजिलै यसमा प्रवेश गर्न सक्दैन।

एन्जल्स एन्ड डेमन्स जस्ता हलिउड फिल्महरूमा इल्लुमिनाटीको बारेमा धेरै कुरा देखाइएको छ। यस फिल्मका अनुसार आधुनिक विज्ञानको पछाडि इल्लुमिनाटीसँग जोडिएका मानिसहरूको हात छ। महान लेखक ड्यान ब्राउन जस्ता धेरै विद्वानहरूले इल्लुमिनाटीलाई वैज्ञानिकहरूको गोप्य संस्था मान्छन्।

ड्यान ब्राउनका अनुसार इल्लुमिनाटीका लागि काम गर्नेहरूको मुख्य लक्ष्य प्राचीन संस्कृतिहरू समाप्त गरी विज्ञानलाई धर्मको रूपमा स्थापित गर्नु हो। एन्जल्स एन्ड डेमन्स (ड्यान ब्राउनको उपन्यासमा आधारित) मा ग्यालिलियो पनि इल्लुमिनाटी थिए भन्ने कुरा उल्लेख गरिएको छ।  जसले चर्चका अन्धविश्वासको विरुद्ध विज्ञान र तर्क स्थापित गर्न प्रयास गरे।

ग्यालिलियो मात्र होइन, न्यूटन, चार्ल्स डार्विन, फ्रान्सिस बेकन, विलियम शेक्सपियर, रकफेलर, रोथसचाइल्ड, कार्ल मार्क्स, एडम वीशाउप्ट र विश्वभर फैलिएका फ्रीमेसन जस्ता धेरै व्यक्तिहरूलाई इल्लुमिनाटीका लागि काम गर्ने मानिन्छ, जसले संसारको सोच परिवर्तन गरेका थिए।

अन्तत: ‘इल्लुमिनाटी’ बारेका अधिकांश धारणा र कथाहरू रहस्य, किम्वदन्ती र कन्स्पिरेसी थ्योरीमा आधारित देखिन्छन्। यसको ऐतिहासिक अस्तित्वको केही आधार भए पनि आजको समयमा यसले विश्व नियन्त्रण गरिरहेको भन्ने दाबीहरू प्रमाणित भएका छैनन्। यद्यपि, यस विषयले मानिसहरूको जिज्ञासा, डर र कल्पनालाई निरन्तर प्रभावित गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *