वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल: पशुपति ‘बी’ र हिलारी ‘बी’ सेमिफाइनलमा प्रवेश
काठमाडौं । चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा पशुपति मावि ‘बी’ र हिलारी मावि ‘बी’ सेमिफाइनलमा प्रवेश गरेका छन्। आइतबार चावहिलस्थित चन्द्रविनायक पार्क मैदानमा भएका खेलमा दुवै टोलीले शानदार जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्।
पहिलो खेलमा पशुपति ‘बी’ ले नोब्सलाई २–० गोलले पराजित गर्यो। पशुपतिको जितमा योगेश श्रेष्ठले दुवै गोल गर्दै निर्णायक प्रदर्शन गरे। दोस्रो खेलमा हिलारी ‘बी’ ले विनायकलाई ६–१ को फराकिलो अन्तरले हरायो। विजेता टोलीका लागि मानव भुजेलले ह्याट्रिक (३ गोल) गरे भने इन्द्र कटुवाल र शिशिर श्रेष्ठले १–१ गोल योगदान दिए।
यसैबीच, प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन मनास्लु र बाल व्यवसायी केन्द्र माविले पनि सेमिफाइनलमा स्थान पक्का गरेका छन्। मनास्लुले क्लिन्टनमाथि ५–० को सानदार जित निकालेको हो। उक्त खेलमा संगम तामाङ र सविना लिम्बूले २–२ गोल तथा रवि तामाङले १ गोल गरे।
त्यस्तै, बाल व्यवसायी केन्द्र माविले हेरिटेजलाई ४–० गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्यो। विजयी टोलीका विपिन खत्री र योगेन्द्र धामीले २–२ गोल गरे।
खेलपछि पशुपति ‘बी’ का योगेश श्रेष्ठ, हिलारी ‘बी’ का मानव भुजेल, मनास्लुका संगम तामाङ र बाल व्यवसायीका विपिन खत्री ‘म्यान अफ द म्याच’ घोषित भए।
सेमिफाइनलमा बाल व्यवसायी केन्द्र माविको सामना पशुपति ‘बी’ सँग हुनेछ भने मनास्लुले हिलारी ‘बी’ विरुद्ध प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनल खेल सोमबार हुने आयोजकले जनाएको छ।
