नेपाल टिम च्याम्पियन
काठमाडौं। काभ्रेको धुलिखेलमा सम्पन्न सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ। अन्तर्राष्ट्रिय सभात महासंघ र एसियन सभात कन्फेडेरेसनको प्राविधिक तथा अफिसियल सहयोगमा नेपाल सभात संघले प्रतियोगिता आयोजना गरेको हो।
प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै कुल ३१ स्वर्ण, २० रजत र ३० कांस्य पदक जितेर टिम च्याम्पियन बन्न सफल भएको हो। भारतले १८ स्वर्ण, २७ रजत र २२ कांस्यसहित दोस्रो स्थान हासिल गर्यो भने इन्डोनेसिया ३ स्वर्ण, ४ रजत र १ कांस्यसहित तेस्रो स्थानमा रह्यो।
च्याम्पियनसिपमा विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा विशेष सम्मानहरू पनि प्रदान गरिएको थियो। नेपालकी अमृता तामाङले फेयर प्ले अवार्ड प्राप्त गरिन्। यस्तै उज्बेकिस्तानका मास्रपोभ ओमिदिल्लो पुरुषतर्फ र भारतकी वातन्पाई महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए।
यसैगरी हिमालयन अन्तर्राष्ट्रिय खुल्ला सभात च्याम्पियनसिप अन्तर्गत न्युजिल्यान्डका ५८ वर्षीय बार्नी भ्याकी र ५४ वर्षीय फ्रान्सिस भेसेतुलुले भेट्रान्स एक्सिलेन्स अवार्ड प्राप्त गरेका छन्।
प्रतियोगितामा एसियाका विभिन्न ९ देशका करिब ३ सय खेलाडीको सहभागिता रहेको थियो। आयोजकका अनुसार अन्तिम समयमा थाइल्यान्ड, इरान, बंगलादेश र जापानका खेलाडी विभिन्न कारणले प्रतियोगितामा सहभागी हुन सकेनन्।
यसैबीच, आठौं एसियन सभात च्याम्पियनसिप आयोजना गर्न इन्डोनेसियाले प्रस्ताव गरेको आयोजकले जनाएको छ।
