`

जुम्ला-रारा अल्ट्रा म्याराथनको तयारी पूरा

Nepal One HD २४ वैशाख २०८३ १८:३८
खेलकुद

जुम्ला। कर्णाली स्पोर्ट क्लब जुम्लाको आयोजनामा सञ्चालन हुने सातौँ संस्करणको जुम्ला-रारा-अल्ट्रा म्याराथन प्रतियोगिताको सबै तयारी पूरा भएको छ ।यही वैशाख २६ गते सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगितासम्बन्धी जानकारी दिन यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्लबका अध्यक्ष सरोज शाहीले जुम्ला सदरमुकाम खलङ्गा बजारबाट मुगुको राराताल जाने पदमार्गको पर्यटन प्रवर्द्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथनको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा एक हजार बढी खेलाडी सहभागी हुनेछन् ।

सबैभन्दा लामो जुम्ला-रारा अल्ट्रा म्याराथन ५४ किमी दूरीको दौड प्रतियोगितामा १३५ जना खेलाडीले नाम दर्ता गराइसकेका क्लबका अध्यक्ष शाहीले उल्लेख गर्नुभयो । यसैगरी पाँच किमी दूरीका लागि ६५० र १० किमीतर्फ २०० जना सहभागी हुने जनाउँदै नाम दर्ता हुनेको सङ्ख्या बढ्ने बताउनुभयो ।

विशेष गरी जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगितामा भारत, फ्रान्स, अमेरिका, बेलायत, नेदरल्याण्ड, इटालीलगायत देशका धावकले नाम दर्ता गरेका छन् । हालसम्म भारत र फ्रान्सका धावक जुम्ला पुगिसकेको कर्णाली स्पोर्ट क्लबका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य र साहसिक खेल पर्यटन प्रवर्द्धनमा जुम्ला-रारा अल्ट्राम्याराथन प्रतियोगिताले टेवा पुग्ने अपेक्षा राखिएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पौडलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको ५४ किमी दौडअन्तर्गत स्थानीय धावकका लागि रु तीन हजार र अन्य धावकका लागि रु पाँच हजार शुल्क निर्धारण गरिएको छ ।

पाँच किलोमिटरतर्फ प्रथम हुनेलाई रु पाँच हजार, दोस्रोलाई रु तीन हजार र तेस्रोलाई रु दुई हजार पुरस्कार तोकिएको क्लबका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

साथै १० किलोमिटरतर्फ प्रथम हुनेलाई रु १० हजार, दोस्रोलाई रु सात हजार र तेस्रोलाई रु पाँच हजार तथा ५४ किलोमिटरतर्फ प्रथम हुनेलाई रु एक लाख, दोस्रोलाई रु ७५ हजार, तेस्रोलाई रु ५० हजार, चौथो र पाँचौँलाई समान रु २० हजार पुरस्कारको व्यवस्थापन गरिएको कर्णाली स्पोर्ट क्लबले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *