`

रास्वपाको सांसद प्रशिक्षण कार्यक्रमप्रति रास्वपा सांसद तामाङको प्रश्नैप्रश्न(भिडियो)

Nepal One HD २६ वैशाख २०८३ १६:०५
भिडियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले पार्टीद्वारा सांसदहरूका लागि फाइभ स्टार होटलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमप्रति कडा आपत्ति जनाएकी छन्। जावलाखेलस्थित होटलमा शनिबार आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको खर्च र आवश्यकतामाथि प्रश्न उठाउँदै उनले महँगो होटल रोज्नुको औचित्यमाथि प्रश्न उठाएकी हुन् ।

उनका अनुसार सांसदहरूको प्रशिक्षण वा अभिमुखीकरण कार्यक्रम गर्न फाइभ स्टार होटल नै अनिवार्य हुने कुनै बाध्यता नभएको र सिंहदरबारभित्रै पर्याप्त सभाहलहरू उपलब्ध हुँदाहुँदै बाहिर महँगो स्थान रोज्नुको कारण स्पष्ट हुनुपर्ने धारणा व्यक्त गरेकी हुन् । 

‘संसदहरूलाई प्रशिक्षण कार्यक्रम या अभिमुखीकरण कार्यक्रम गर्न फाइभ स्टार होटल नै या अरु बाहिर कसैसँग हल् सापटी लिएर गर्नु  पर्नु कुनै बाध्यता पक्कै होइन होला ?? सिंहदरबारमा त्यस्ता सभाहल कति छन् कति , बाहिर किन आखिर ?’ उनले लेखेकी छन्।  

उनले बाहिर कार्यक्रम गर्दा लाग्ने खर्चको लेखाजोखा कसले गर्ने भन्ने प्रश्न पनि उठाइन्। तामाङले यदि सुरक्षाको कारण देखाएर महँगो होटल छनोट गरिएको हो भने त्यो तर्क पनि कमजोर हुने बताउँदै सांसदहरूको सुरक्षा आवश्यकता एक दिन मात्र नभई नियमित रूपमा रहने उल्लेख गरिन्।

उनी अगाडि लेख्छिन्, ‘बाहिर दिनको कति खर्च लाग्छ त्यसको लेखा जोखा कस्ले गर्ने?? कि सांसदहरूलाई सुरक्षाको लागि महंगा हलहरुमा कार्यक्रम गरिएको  हो भने के एक दिन मात्र चाहिने हो सुरक्षा?? अरु दिन चाहिँ पर्दैन?’

उनले आफूहरू परिवर्तनको एजेन्डासहित अघि बढिरहेको दाबी गर्दै फजुल खर्च नगर्ने प्रतिबद्धता व्यवहारमा अडिग रहनुपर्नेमा जोड दिइन्। उनका अनुसार यस्तो अभ्यास दोहोरिँदै गए नयाँ र पुराना राजनीतिक अभ्यासबीचको भिन्नता नै हराउने खतरा रहन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *