`

थेम्सको लहरमा तमोरको स्पर्श : नारी संवेदना, आत्मसम्मान र पहिचानकाे काव्यात्मक प्रकटीकरण

डा. तुलसी गाैतम २७ वैशाख २०८३ १९:१०
अन्तर्वार्ता/बिचार

काठमाडौं । कविता अनुभूति नै हो । अनुभूति हामी सबैमा हुन्छ। प्रत्येक व्यक्तिका आ-आफ्ना जीवन कथाहरू हुन्छन्, अनुभूति हुन्छन्। तर, त्यो अनुभूतिलाई केही मान्छेले मात्रै व्यक्त गर्न सक्छन्। व्यक्त गर्ने आफ्ना-आफ्ना विधा हुन्छन्।

कविता एउटा सशक्त विधा हो। आख्यान अर्काे सशक्त विधा हो। यो ‘थेम्सको लहरमा तमाेरको स्पर्श’ कृति नेपाली कविताको इतिहासमा एउटा महत्त्वपूर्ण कृति हो । वास्तवमा, यसका कविताहरू अत्यन्तै शक्तिशाली छन्। ती कविताहरू मैले मुख्य रूपमा नारी संवेदनाकै दृष्टिकोणले बुझ्ने प्रयास गरेँ। विभिन्‍न दृष्टिकोण आउँछन् कवितामा त। अनेक भावनाहरू समेटिएका हुन्छन् तर केही महत्त्वपूर्ण कुराहरूलाई मात्रै म तपाईंहरू सामु राख्छु।

एउटा चाहिँ नारी संवेदना नै हो। त्यो नारी संवेदना वाचन गरिएको कवितामा मात्रै नभएर तीन-चारवटा कविताहरूमा त्यो छ। ‘किन किनारिन्छन् आमाहरू ?’ भन्ने एउटा कविता छ। ‘प्रेम’काे कविता छ । यस्ता अन्य कविता पनि छन्। यी कविताहरूमा नारी संवेदना अत्यन्त सशक्त ढंगमा पोखिएको मैले भेटेँ। नारी संवेदना कस्तो हुन्छ भन्‍ने बुझ्न लिम्बु कल्चरमा प्रचलित ‘माङ्‍गेन्‍ना’ शब्द यो कृतिभित्र आएको छ। त्यो ‘माङ्‍गेन्‍ना’ शब्दको अर्थ आत्म-सम्मान भन्‍ने हुँदो रहेछ। त्यो आत्मसम्मानको दृष्टिकोणले नारी संवेदनालाई कविले बुझेको पाएँ । आमाहरूको ठूलो योगदान हुन्छ – घरपरिवार चलाउन। नारीबिना सम्पूर्ण सृष्टि ठप्प हुन्छ। छोराछोरी जन्माउनेदेखि हुर्काउने, लालनपालन गर्नेदेखि छोराछोरीको दायित्व उठाउने जिम्मा जीवनको पहिलो गुरु मानिएको छ-  कविताहरूमा।

आमाको महत्त्व बुझ्नुको अर्थ हो- वात्सल्य र मातृत्व । त्यो प्रकृतिले नै दिएको हो। आमा नै त्यस्तो सृष्टिकर्ता हुन् । बच्चाको माया आमालाई जति हुन्छ, त्यो प्रकृतिले नै बाउलाई कम दिन्छ। दायित्व, सामाजिक दायित्वको रूपमा पुरुषले त्यो जिम्मा उठाउँछ। किनभने यो पितृसत्ता हो। छोरी जन्मिनेबित्तिकै नाक खुम्च्याउने, अर्काको घरमा जाने, नासो सुम्पिने र छोरो जन्मिँदा गर्व गर्ने जुन हाम्रो सामाजिक र पितृसत्तात्मक सोच छ, त्यस विरुद्ध चार-पाँचवटा कविता त यति सशक्त छन्, तपाईंहरू आफैँ पढ्नुस्। म आमा दिदीबहिनीहरूलाई नै यो सङ्ग्रह पढ्न अनुरोध गर्छु। हामी मानवले अनुभूति गर्छौं तर सर्जकहरूले मात्रै अभिव्यक्त गर्न सक्छन् र त्यो अभिव्यक्त गर्ने जुन शक्ति हुन्छ, यो कविता सङ्ग्रहमा काव्यात्मक शक्तिकाे प्रकटीकरण भएकाे छ।

कविताहरु खारिएको लेखकले लेखेजस्तो छ । त्यो भर्खर सिकारु कवि-लेखकले लेखेजस्तो होइन। कुनै विषयलाई छोटोमा, ठ्याक्कै मर्म पुर्‍याएर एउटा सिंगो महाकाव्यले भन्‍ने कुरा एउटै कवितामा भन्‍न सक्नु चानचुने सिर्जनात्मक शक्ति होइन। यो ठूलो शक्ति हो। त्यही शक्तिका कारणले कविहरू आफू मरेर जाँदा पनि कृति अमर छोडेर जान्छन्। नेपाली कविताको इतिहासमा यो कृति अमर रहन्छ। मलाई पक्का विश्वास छ।

दोस्रो, ‘माङ्‍गेन्‍ना’लाई आत्मसम्मानको रुपमा कविताहरूमा  सशक्त रूपमा उठाइएको छ । वास्तवमा कसैको पनि शीर ढल्नु हुँदैन भन्ने मुन्धुममा कथा नै आउँदो रहेछ। मान्छेको सृष्टि गर्दाखेरि पाेराेक्मी यम्भामीलाई तागेरा निङ्‍वाभुमाङले मान्छे बनाउने जिम्मा दिएको, पृथ्वीलाई मान्छेबिना नभएकाे र अलिकति शून्यजस्तो भयो भन्‍ने कथा मुन्धुममा आउँदो रहेछ । अनि सुली र खरानेको बनाएपछि मान्छे बोल्यो। सुनचाँदीको बनाउँदा बोलेन। पछी थुक्क भनेर थुक्दियो। त्यसो गरेपछि उसको शिर निहुरियो। अनि फेरि शिर उठाएको कथा छ ।

हामी आफैँ विचार गरौँ न । समाजमा हामीलाई कसैले हेप्यो भने चसक्क मन दुख्छ। आत्मसम्मानमा चोट लाग्छ। त्यो आमा दिदीबहिनीमा पनि हुन्छ । प्रत्येक पुरुषलाई पनि हुन्छ, नारीलाई पनि हुन्छ। त्यो कसैले कसैलाई हेप्नु हुँदैन भन्‍ने संस्कारबाटै आएको त्यो माङ्‍गेन्‍नाकाे संस्कारबारे मैले धेरै वटा कवितामा पढेँ । ‘प्रेम’ कविता पढेँ। त्यो कवितामा बराबरको कुरा उठाइएको छ। म तिमीलाई प्रेम गर्छु, जसरी निस्वार्थ, तिमीले पनि त्यसरी नै गर्नुपर्छ। म तिमीलाई सम्मान गर्छु जसरी, तिमीले पनि सम्मान गर्नुपर्छ। यदि यसरी एक अर्कालाई सम्मान नगर्ने हो भने, यो समाज, यो सभ्यताको कुरामा धेरै पछाडि पर्छ भन्ने सेन्समा त्यो कुरा छ। अनि, आफूलाई जे कुरामा असहमति लागेको छ, त्यसमा विद्रोही स्वरहरू छन् तर त्यो विद्रोही स्वर नाराको रूपमा नभएर साहित्यिक, काव्यात्मक शैली तर प्रस्तावको रूपमा सभ्य भाषामा व्यक्त गरिएको छ।

यहाँ डायस्पोराको कुरा छ । मुकुम्लुङ र फक्ताङलुङ दुईवटा स्थानको नाम आउँछ । तमोर नदीको नाम आउँछ र थेम्स नदीको नाम आउँछ। थेम्सलाई एउटा सभ्यताको दृष्टिकोणले यहाँ प्रस्तुत गरेको र मुकुम्लुङ र फक्ताङलुङलाई आदिम भूमि, जन्मभूमि, याक्थुङहरूको उत्पत्तिस्थल मान्‍ने कुराबाट हेरेको देखिन्छ । तमोर र थेम्स नदीको विम्ब चाहिँ कस्तो यहाँ छ भने तमोर बगेर समुद्रमा पुगेजस्तै थेम्स नदी पनि समुद्रमै पुग्छ। तमोर नदीको किनारमा अथवा मुकुम्लुङकाे फेदमा जन्मिएको मान्छे आफ्नो मातृभूमि छोडेर जसरी तमोर समुद्रमा पुग्छ, मिसिन्छ, विलय हुन्छ, त्यसरी नै त्यो थेम्सको नदीमा विलय हुने हो कि, आफ्नो ‘आइडेन्टिटी’ हराउने हो कि ? फक्ताङलुङले मलाई  गुमाएको हो कि, मैले फक्ताङलुङलाई गुमाएको हो? प्रश्‍न छ त्यहाँ। त्यो सबै कविताहरू प्रश्‍नको रूपमा छन्। यो प्रश्‍नात्मक शैली यति बेजोड छ कि समाजमा खाली प्रश्‍न छ। प्रश्‍नको जवाफ प्रत्येक पाठकले सोच्‍नुपर्छ। पाठकलाई अर्थमा घाेत्लिन कविताले बाध्य बनाउँछ। त्यो नै कविताको शक्ति हाे ।

पाठकको संवेदना र लेखकको संवेदनाको भाव त एउटै हो, जसले आफ्नो भाषा, संस्कृति, पहिचान हराउँदै गएको महसुस गरेको छ। त्यो कुराको महसुस त सबैलाई छ। तर, त्यो कवितामा प्रश्‍नकाे रूपमा जब आउँछ, प्रत्येक पाठकले कविता पढ्दा त्यो महसुस गर्छ। त्यसकारणले त्यो डाइस्पोरिक चिन्तनले हेरिएको हो।

हाम्रो गोर्खाको इतिहास पनि आउँछ कवितामा । उनीहरूको स्मृति आउँछ। उनीहरूको गुम्दै गएको पहिचान आउँछ र आफ्नो भूमिप्रतिको मोह, मातृ मोह पनि आउँछ। यो डाइस्पाेरिक चिन्तनले, नारी संवेदनाको दृष्टिकोणले र माङ्‍गेन्‍नाकाे दृष्टिकोणले नि:सन्देह कविताहरू अत्यन्तै शक्तिशाली छन्। याे कृति आफैँ पढ्नुहोला ।

शान्ति लिम्बूकाे कविता कृति ‘थेम्सको लहरमा तमोरको स्पर्श’ माथि डा. तुलसी गाैतमले शनिबार गरेकाे समालाेचना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *