परिक्षामा आफ्नै शेरको व्याख्या गर्दा फेल भए ‘बशीर बद्र’
एकजना यस्ता शायर छन्, जसलाई आफ्नै शेरको अर्थ परीक्षा हलमै लेख्नुपरेको थियो। तर आश्चर्यको कुरा, आफ्नै शेरको व्याख्या सही रूपमा लेखेर आए पनि उनी फेल भएका थिए। ती शायर हुन्- ‘बशीर बद्र’।
बशीर बद्र एक प्रसिद्ध भारतीय उर्दू शायर हुन्। उनको जन्म सन् १९३५ मा भारतको उत्तर प्रदेशमा भएको थियो। उनले प्रारम्भिक शिक्षा भारतमै प्राप्त गरे र पछि उर्दू साहित्यमा उच्च अध्ययन गरे।
बद्र विशेषगरी ग़ज़ल लेखनका लागि चिनिन्छन्। उनका शेरहरू सरल भाषा, गहिरो भाव र मानवीय अनुभूतिले भरिएका हुन्छन्, जसले सामान्य मानिसदेखि साहित्यप्रेमीसम्म सबैलाई आकर्षित गर्छ। प्रेम, विछोड, स्मृति र जीवनका सूक्ष्म भावनाहरूलाई उनले अत्यन्त सहज ढंगले प्रस्तुत गरेका छन्।
जीवनमा उनले विभिन्न कठिनाइहरू पनि सामना गरे। तर ती अनुभवहरूले नै उनको शायरीलाई अझ परिपक्व बनायो। उनका धेरै शेरहरू जनमानसमा लोकप्रिय छन्।
बद्रका गजलका शेरहरू सुन्दा मानिसहरूलाई सुनिरहूँ जस्तो लाग्छ। जब पनि मनको अवस्था शब्दमा व्यक्त गर्ने इच्छा हुन्छ, तब बद्रका उर्दू शेरहरू सबैभन्दा पहिले मानसपटलमा आउँछन्। उनलाई पढेर प्रभावित नभएको सायद कोही छैन।
बद्रलाई उर्दूको पूर्ण ग़ज़लकार मानिन्छ। उनले आफैंले पनि लेखेका छन्, ‘म ग़ज़लको मान्छे हुँ। ग़ज़लसँग मेरो जन्मौं-जन्मको सम्बन्ध छ। ग़ज़लको कला नै मेरो कला हो। मेरो अनुभव ग़ज़लको अनुभव हो। म को हुँ? मेरो इतिहास हिन्दुस्तानको इतिहास वरिपरि छ।’
बद्र आफूलाई ग़ज़ल र शायरीको लामो परम्परासँग जोडेर हेर्छन्। यस हिसाबले उनी आफूलाई आर्य, द्रविड़, अरबी, इरानी र मंगोली परम्पराहरूको प्रतिनिधि मान्छन्।
उनका लागि संसार मानवताको एउटा विशाल रूख हो, जसमा हजारौँ साना-ठूला हाँगाहरू छन्। प्रत्येक हाँगा एउटा देश जस्तै हो। उनी भन्छन्, ‘मेरो देश पनि यही विशाल संसारको एउटा हरियाली र सुन्दर हाँगा हो, जुन मलाई सबैभन्दा प्रिय छ। तर मलाई अरू हाँगाहरू र प्रत्येक पातसँग पनि प्रेम छ। जो मेरो देश र मेरो संसारको दुश्मन हो, त्यो मेरो र मानवताको पनि दुश्मन हो।’
यस दृष्टिकोणले बद्रले मानवताको लामो यात्रामा ग़ज़लमार्फत सम्पूर्ण संसारको सुन्दरता, सुख-दुःख र विचारको उच्चता हासिल गरेका छन्। ग़ज़लसँग जन्म-जन्मको सम्बन्ध रहेको बताउने शायरले ग़ज़लको आत्मामा कति गहिरो रूपमा मानवताको पीडा, प्रेम, संघर्ष, चाहना र सफलताहरू वा असफलताहरूलाई समेटिएको देख्न चाहन्छन् भन्ने कुरा स्वतः स्पष्ट हुन्छ। उनका हरेक शेरमा यस्तो चाहना हुन्छ कि संसारको जुनसुकै ठाउँमा पढियोस्, पढ्ने व्यक्तिलाई त्यो आफ्नै कथा जस्तो लागोस्।
अगर तलाश करूँ कोई मिल ही जाएगा
मगर तुम्हारी तरह कौन मुझ को चाहेगा
तुम्हें ज़रूर कोई चाहतों से देखेगा
मगर वो आँखें हमारी कहाँ से लाएगा
न जाने कब तिरे दिल पर नई सी दस्तक हो
मकान ख़ाली हुआ है तो कोई आएगा
मैं अपनी राह में दीवार बन के बैठा हूँ
अगर वो आया तो किस रास्ते से आएगा
तुम्हारे साथ ये मौसम फ़रिश्तों जैसा है
तुम्हारे बा’द ये मौसम बहुत सताएगा
उनका गजल र शेरहरू संसारका धेरै ठाउँमा पुगेका छन्। धेरैपटक मानिसहरूलाई यो शेर कसको हो भन्ने थाहा नहुँदा पनि उनीहरूले उद्धरणका रूपमा प्रयोग गरिरहेका हुन्छन्। उनका सयौँ शेरहरू यसरी नै मानिसहरूको जिब्रोमा बसेका छन्।
एक दिन बशीर बद्र गजल सुनाउँदा सुनाउँदै ‘लोग टूट जाते हैं एक घर बनाने में’ भन्ने पंक्तिमा अड्किए। त्यसपछि ‘घर जलाने’ भन्ने अर्को पंक्ति बिर्सिएर उनी घर बनाउनु भनेको के हो? के घर चार पर्खालको मात्र नाम हो? जब हामी शहर परिवर्तन गर्छौँ, नयाँ ठाउँमा बस्छौँ, पुरानो ठाउँ छोड्छौँ, किन हाम्रो मन फेरि त्यही पुरानो ठाउँतिर फर्किरहन्छ? किन बाहिरको संसार परायो लाग्छ?
उनी गजललाई निरन्तरता नदिई यस्तै सोच्दै बसे।
हुनपनि, हामी पहिले नै भित्रभित्रै टुटेका, छरिएका, आफूभित्र सीमित भएका हुन्छौँ। त्यसैले चौखट बाहिरको संसार कहिल्यै भित्रको जस्तो लाग्दैन। हाम्रो अनुभूतिमा बाधा तब आउँछ, जब भित्र केही सानो कुरा पनि टुट्छ। बाहिर जतिसुकै विघटन भइरहोस्, हाम्रो मन त्यसलाई बेवास्ता गरेर अगाडि बढ्छ।
त्यसैले ‘लोग टूट जाते हैं एक घर बनाने में’ भन्ने पंक्ति केवल ‘घर’ को भौतिक अर्थमा सीमित लाग्दैन। यसका धेरै गहिरा अर्थहरू खुल्दै जान्छन्।
अतीतमा कति कुरा टुटे, कसले मलाई टुटायो, किन म आफैं पनि बारम्बार टुटेँ यी प्रश्नहरू उठ्छन्। कहिलेकाहीँ अझै पनि मनभित्र टुट्ने अनुभव हुन्छ। किन यस्तो भयो? किन सम्बन्धहरू बदलिन्छन्? किन मनभित्रको खुशी हराउँदै जान्छ?
पहिले जस्तै विचारहरूको आँधी किन उठ्दैन? किन जीवनको ऊर्जा हराउँदै गएको जस्तो लाग्छ? जब ‘घर’ लाई आफ्नै तरिकाले परिभाषित गर्न खोजिन्छ, बाहिरको संसार टुटेको देखिन्छ। जहाँ सबै ठीकठाक देखिन्छ, त्यहाँ पनि उदासी महसुस हुन्छ।
सायद ‘टुट्नु’ भनेको ‘छुट्नु’ पनि हो।
अनि यस्तै भावमा बद्र लेख्छन्,
लोग टूट जाते हैं एक घर बनाने में
तुम तरस नहीं खाते बस्तियाँ जलाने में
और जाम टूटेंगे इस शराब-ख़ाने में
मौसमों के आने में मौसमों के जाने में
हर धड़कते पत्थर को लोग दिल समझते हैं
उम्रें बीत जाती हैं दिल को दिल बनाने में
फ़ाख़्ता की मजबूरी ये भी कह नहीं सकती
कौन साँप रखता है उस के आशियाने में
दूसरी कोई लड़की ज़िंदगी में आएगी
कितनी देर लगती है उस को भूल जाने में
बद्र अनन्त चम्किरहने ध्रुव तारा हुन्। उनले प्राप्त गरेको उचाइ उनले सहजै प्राप्त गरेका होइनन्। नेपाली गजलमा प्रदिप रोदन भन्छन् नि,
‘हावा, धुवाँ पुग्छ, धुलो पुग्छ,
चोट नखाई उचाइमा को पुग्छ?’
बद्रले पनि यो उचाइ सहजै पाएका होइनन्। कुनै पनि महान शायरलाई यस्तो स्थान सजिलै मिल्दैन। मीर, ग़ालिब, फ़ैज़, पुरनम सबैले कठिन परीक्षाहरू पार गरेका छन्।
बद्रले पनि धेरै संघर्ष र कठिन समयहरू पार गरेका छन्। उनी ग़ज़लको संसारमा उच्च स्थानमा छन् भने त्यसको कारण उनी जीवनका जटिल अनुभवहरूलाई सरल र प्रभावशाली रूपमा शेरमा उतार्ने क्षमता हो।
उनको यही विशेषताका कारण ग़ज़लप्रति अन्य भाषाहरूमा पनि नयाँ प्रेम र सम्मान पैदा भएको मानिन्छ।
अबुल फ़ैज़ सहरले त यहाँसम्म भनेका छन्,‘बशीर बद्रभन्दा पहिले कुनै ग़ज़ललाई यति विश्वव्यापी लोकप्रियता प्राप्त भएको थिएन।’
मीर र ग़ालिबका शेरहरू पनि प्रसिद्ध छन्, तर विश्वस्तरमा बद्रका शेरहरू जति लोकप्रिय अरू कसैका छैनन्।
यसको कारण आधुनिक मानिसको मनोवैज्ञानिक अवस्थालाई उनले जुन शैलीमा प्रस्तुत गरेका छन्। त्यो पहिले सम्भव थिएन। उनी आज ग़ज़लका सबैभन्दा प्रसिद्ध शायरमध्ये एक मानिन्छन्।
