‘…र त्यहाँ घर मात्रै भत्किएनन्’
‘लोग टूट जाते हैं एक घर बनाने में,
तुम तरस नहीं खाते बस्तियाँ जलाने में!’
भारतको भोपालका प्रख्यात गजलकार वशीर बद्र भन्छन्, ‘एउटा सानो घर बनाउन पनि मानिसहरूले धेरै मेहनत, पीडा र संघर्ष सहनुपर्छ। त्यही क्रममा उनीहरू मानसिक र शारीरिक रूपमा टुट्छन्, फुट्छन्। त्यही मेहनत, पसिना र पीडाले बनेका घरहरू कसैले पूरै बस्ती नै जलाइदिन्छन्। जलाउनेहरूले त्यसप्रति कुनै दया-माया देखाउँदैनन्।’
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सुकुमवासी नागरिकहरूसँग गजलकाे शेरमा भनिएजस्तै व्यवहार गरे। सिर्फ दुई दिनमा उनले घर भत्काइदिए र बस्तीमा आगो लगाइदिए। आफ्नो वर्षौं लगाएर बनाएको घरमा आगो लागेपछि हामी सबै खिन्न हुन्छौँ। आँखै अगाडि घर जलेपछि तपाईं/हामी सबै रुन्छौँ। तर, बालेन्द्रले रुन पनि दिएनन्, उल्टो घर जलेपछि रुनेलाई ‘हुकुमवासी’ करार गरिदिए। अपराधीजस्तो बनाइदिए। लौरो र बन्दुक देखाएर आँसु पनि खसाल्न नदिइकन खेदे।
बुद्धको ठूलो भक्त बताउने, अझ शान्तिको ठूलो हवाला दिने वालेन्द्रले बालाजु, बल्खु, अनामनगर, मनोहरा, थापाथलीलगायतका सुकुमवासी बस्ती भत्काउन बन्दुकसहित सेना पठाउँदा ८/१० वर्षका बच्चाहरू कति त्रासदीमा रहे हाेलान् ? गरिबी अन्त्यको भजन गाउने वालेन्द्रले तीन हजारभन्दा बढी हतियारधारी सुरक्षा फौज पठाउँदा त्यहाँ चाउचाउ बेचेर भात खाने आमाहरूले के सोचे होलिन् ?
वा! वालेन्द्र, तिम्रो बहादुरी, वा!
तपाईं एकछिन यसो सोच्नुस् त-
तपाईं भर्खर पाँच वर्षका हुनुभएको छ। या तपाईंको काखमा १५ दिनको दुधे बालक दूध खान चिच्याइरहेको छ। अथवा सोच्नुस्, तपाईंको उमेर ८० वर्ष भयो र लठ्ठी नटेकी तपाईं हिंड्न सक्नुहुन्न।
त्यहीबेला राज्य तपाईंमाथि जाइलाग्न आउँछ-डोजरसहित। सशस्त्र, महानगर र नेपाल प्रहरीसहित। अझ गोलीसहित, सेनासहित। सरकारले तपाईंलाई भन्छ, ‘त्यो घरबाट निस्किने भए निस्क, नत्र तेरो घरमा होइन, टाउकोमा डोजर चल्छ। तेरो नलीखुट्टा भाँचिने गरी लठ्ठी बर्सिन्छ। तेरो गिदी छरिने गरी गोली चल्छ।’
तपाईंले के गर्नुहुन्छ यो बेला? सायद मजस्तै सबैलाई प्राणको माया लाग्छ र मजस्तै सबै भाग्न विवश हुनुपर्छ-त्रासमा।
यसमा मैले आफूलाई किन जोडेको भने सुकुमवासी बस्ती हटाउने क्रममा वालेन्द्रका बर्दीधारीहरूले बस्तीमा महिला, बालबालिका, वृद्ध-वृद्धामाथि जुन उपद्रो मच्चाए, त्यही उपद्रो ममाथि पनि थुप्रियो। मजस्ता धेरै रिपोर्टरहरू माथि।
वालेन्द्रका सिपाहीहरूले अनामनगरमा मलाई भनिरहेका थिए, ‘उता गएर भिडियो खिचेउ भने धोबीखोलामा फालिदिन्छु।’ यो अनामनगरमा मात्रै होइन, थापाथली, मनोहरा, बल्खु सबै ठाउँमा दोहोरियो। म एक्लो मान्छे होइन, जससँग प्रहरीले थुनुवासँग गर्ने जस्तो व्यवहार गर्याे । सायद थुनुवासँग पनि त्यस्तो व्यवहार गर्न मिल्दैन।
तर यतिखेर उनीहरू उन्मत्त छन्। उनीहरू अहिले तालीको नसामा लठ्ठ छन्। एउटा एलिट जमातले उनीहरूलाई मदहोस पारेको छ। यतिसम्म कि अहिले उनीहरू मान्छे मार्न पनि पछि हट्दैनन्।
सरकारले सुकुमवासी बस्ती हटाउने अभियान नै थालेको छ। सरकारी जग्गा अतिक्रमण गरेर बस्नेहरूलाई त्यहीँ राख्नुपर्छ भन्ने होइन, त्याे जग्गा सरकारकै हुनुपर्छ । यसमा दुई मत छैन। तर, मुखैको भात खोसेर होइन। चिर्कटो ओढेर सुतेको ओछ्यान जलाएर होइन।
सरकारको डोजर अभियानले बस्तीभित्रका मन्दिर, गुम्बा, चर्च, विधालय जस्ता सार्वजनिक संरचना पनि भत्कायो। यसअघि बालेन काठमाडौं महानगरको प्रमुख रहँदा सुकुमवासी बस्ती भत्काएर ती ठाउँहरुमा पार्क निर्माण गर्ने योजना रहेको चर्चा हुने गर्थ्यो। यदि अहिले पनि सरकारको योजना यथावत् छ भने एउटा पार्क भित्र संग्रहालयका रुपमा वा स्मृतिका रुपमा मन्दिर, गुम्बा, चर्च या अरु सार्वजनिक संरचना रहने कुराले पार्कलाई अझै सुन्दर बनाउन सक्थ्यो। तर, सरकारले त्यसमा कुनै पनि किसिमले पुन:विचार गरिएको देखिएन।
बस्ती भत्काउँदा त्यहाँ कसैको कपुरी ‘क’ लेखिएको कापी पुरिएको छ। कसैको आत्मसम्मान ढलेको छ। बालेनकाे डोजरले सुकुमवासी बस्तीमा घर देख्यो तर डरैडरले उत्पन्न भएको घरभित्रको भोक, प्यास, निद्रा, पीडा, चिच्याहट सुनेन। सरकारले पहिले छहारी भत्कायो र पछि भन्यो-‘छहारी चाहिन्छ भने नाम दर्ता गराऊ।’ यसको ठाउँमा यस्तो पनि त हुन सक्थ्यो-‘छहारी नभएकाहरूले नाम दर्ता गराउनु, हामी बस्ती भत्काउँदैछौँ।’ तर सरकारलाई के को चासो। देवता जो बन्नु थियो, देवत्त्वकरण जो गराउनु थियो।
सरकारले घर भत्काएपछि बासविहीन भएर तीन जना नागरिकले आत्महत्या गरे। १८ वैशाखमा शुक्रबार बिहान घर भत्केको हेर्न सक्दिनँ भन्दै निस्किएका ६१ वर्षीय ईन्द्रबहादुर राई दिउँसो बागमती खोलामा मृत भेटिए ।
‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै बर्बराउँदै निस्केका इन्द्रबहादुर मृत भेटिए
यसअघि काठमाडौंको मनोहरा सुकुम्बासी बस्तीमा डोजर चल्दा रविन तामाङका १७ वर्षे छोराले आत्महत्या गरे । रविनका अनुसार छोरा बालेन सरकारले टहरा भत्काएपछि के गर्ने होला भनेर गम्भीर चिन्तामा थिए । पछि उनी शाैचालयमा झुण्डिएको अवस्थामा मृत फेला परे ।
थापाथलीमा बस्ती हटाउने क्रममा एक महिला बेहोस भइन् ।
मनोहरामा त्यही दृश्य थियो। जहाँ थुप्रै नागरिक गास, बास र कपासको चिन्तामा थिए। हरेक बस्तीका बसोबासीहरुले कोठा नपाएको दुखेसो गरिरहेका थिए।
मनोहरामा २५ वर्ष देखि बसोबास गर्दै आइरहेका ६५ वर्षका कृष्ण सुबेदीले हामीलाई भन्दै थिए, ‘सुकुमवासी भनेर कसैले कोठा पनि दिएनन् । ६ जनाको परिवार छ। सरकारले एउटा कोठामा राख्ने भन्ने सुनेका छौँ। ६ जना एउटा कोठामा कसरी बस्नु अब।’
बालाजुमा त्यही कारुणिक दृश्य देखियाे । अलपत्र परेका बालबालिका, पुर्पुराेमा हात राखेर मुर्मुरिएका बुढाबुढी।
‘कोठा खोजेको तीन दिन भइसक्यो, दलित भनेर कसैले कोठा दिएनन्,’ बल्खुमा शान्तामाया नकर्मीले भन्दै थिइन्।
सुकुमवासी नागरिकहरु ठाउँ ठाउँमा छोराको लाश जलाएर फर्केको बुबाजस्तै मर्माहत थिए। उनीहरुको त्यहाँ घर मात्रै भत्काइएको थिएन- आत्मसम्मान पनि ढालियाे । तर यी सबै घटनामा सारा जग हाँस्यो। मान्छे मर्दा मान्छेले ताली बजाए। खुसी भए । मानौँ, भत्काइएका सुकुमवासी बस्तीहरु कुनै रंगमञ्च हुन् र त्यहाँ रोइरहेका नागरिकहरु ‘कमेडियन’ वा ‘जोकर’
सोच्नुहाेस् त- यो बेला नेपालको प्रधानमन्त्री वालेन्द्र नभएर शेरबहादुर देउवा, केपी ओली या पुष्पकमल दाहाल भएको भए? उनीहरूले यसरी घर भत्काउँदै हिँडेका भए? त्यसपछि कसैले आत्महत्या गरेको भए? वालेन्द्रकाे सम्भावित अभिव्यक्ति हुन सक्थ्याे – ‘थापाथली सुकुमवासी बस्ती त भत्कायौ, मनोहरा बस्ती पनि भत्कायौ भने तिम्रो घरमा आगो लगाइदिन्छु ।’
केही ठूला घर देखाएर आफूलाई बौद्धिक करार गर्ने एउटा जमातले सुकुमवासी बस्तीमा बसोबास गरेका नागरिकलाई हुकुमवासी देख्यो। बस्तीमा भाडामा दिएका ठूला ठूला घर नभएका होइनन्। तर सबैको घर थिएन। सबै हुकुमवासी थिएनन्। सबैले घर भाडामा दिएका थिएनन्। केही घर देखाएर वास्तविक सुकुमवासीलाई हुकुमवासी करार गर्न वालेन्द्रका समर्थक पछि परेनन्। कतिसम्म भने आत्महत्या गर्ने ती दुई जनालाई ‘हुकुमवासीहरूलाई ठिक्क पर्याे ’ भन्दै बौद्धिकताको आवरण भिरेका केहीको सहयोगमा यसरी अपराधीकरण गरियो- मानौँ ती दुई जनाले वालेन्द्रले जस्तै कसैको घरमा, कसैको बस्तीमा आगो लगाएर आएका हुन्।
सरकारले बस्ती भत्काएपछि हजारौँ नागरिकहरू बासविहीन भएका छन्। भर्खर स्कुल पढ्दै गरेका बालबालिकाको स्कुल छुटेको छ। सरकारले व्यवस्थापनको नाममा कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा सुकुमवासीहरूलाई हुलेको छ। होल्डिङ सेन्टरबाट दैनिक आर्तनादहरू आउँछन्। सरकार ती आर्तनादहरू सुन्न डराउँछ। सञ्चारकर्मीहरूलाई होल्डिङ सेन्टरमा प्रवेश निषेध गरिन्छ।
देशभर भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसाेबासीकाे सङ्ख्या करिब १३ लाख छ । तर सरकार यसरी उनीहरुकाे बस्ती जलाउन लागेको छ कि उनीहरु यो देशका नागरिक नै होइनन्। त्यही भएर त देशका विभिन्न ठाउँमा डोजर चलिरहेकै छ। सुकुमवासीहरू विकल्पहीन भइरहेकै छन्। उनीहरु त्रासदीमा कैद छन्।
सरकारले संचालन गरेको डोजर अभियानबाट २ हजार ६ सय ८७ घरका ८ हजार ७ सय ५० परिवार विस्थापित भएको सरकारी तथ्याङ्क छ।
तथ्यांक अनुसार काठमाडौं उपत्यकाका १५ हजार ३१६ जना विस्थापित भएका छन् । विस्थापित हुनेहरूमा ६ हजार ८५८ पुरुष, ५ हजार ३२५ महिला, १ हजार ४३७ बालक र १ हजार ६९६ जना बालिका छन् ।
उनीहरूमध्ये धेरैसँग न त लालपुर्जा छ, न त राज्यले वैकल्पिक विकल्पको व्यवस्था गरेको छ । तर उनीहरूको पुनःस्थापना, रोजगारी, शिक्षा वा आधारभूत जीवनयापनको विषयमा राज्य गम्भीर देखिएको छैन ।
रास्वपा सांसदकै घरहरु ऐलानी जग्गामा भेटिएपछि अहिले सरकार रोकिएको छ। व्यवस्थापन नगरी सरकारले अब बस्ती भत्काउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले केही दिनअगाडि बताए।
यसअघि काठमाडौँ महानगरको मेयर हुँदा पनि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले बस्तीमा डोजर चलाउने सुर कसेका थिए। बस्तीमा डोजर पनि पुगेको थियो। तर राजनीतिक विरोध, सुकुमवासी नागरिकहरुको प्रतिरोध र अदालतको आदेशले त्यतिबेला उनी सफल भएनन्।
सुकुमवासी समस्या केवल डोजरले समाधान हुने विषय होइन। यसको स्थायी समाधानका लागि वैज्ञानिक भूमि सुधार, व्यवस्थित आवास योजना, रोजगारी सिर्जना र सामाजिक सुरक्षा आवश्यक हुन्छ। अन्यथा डोजरले घर भत्किए पनि समस्या भने उस्तै रहनेछ।
यो पनि पढ्नुहोस्
बालेनले देखाए सत्ताको तुजुक, निमुखा जनताको उठिबास
यो पनि
