‘हात नलम्काइबक्स्योस्,आँखा नचम्काइबक्स्योस् महाराज!!!’
मदन भण्डारी नेपालका प्रमुख कम्युनिष्ट नेता तथा नेकपा (एमाले) का महासचिव थिए। उनले नेकपा (माले) र नेकपा (मार्क्सवादी) लाई एकीकरण गरी एमाले गठनमा महत्वपूर्ण भूमिका खेले। र ‘बहुदलीय जनताको जनवाद’ को अवधारणा प्रस्तुत गरे। जसले नेपाली कम्युनिष्ट राजनीतिलाई लोकतान्त्रिक अभ्याससँग जोड्यो।
२००९ असार १४ गते ताप्लेजुङमा जन्मिएका भण्डारीले बनारस विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन गरेका थिए। २०२८ सालपछि उनी सक्रिय राजनीतिमा प्रवेश गर्दै कम्युनिष्ट आन्दोलनका प्रभावशाली नेताका रूपमा स्थापित भए।
भण्डारी २०४८ सालको चुनावमा काठमाडौं क्षेत्र नं. १ बाट विजयी समेत भएका थिए।
२०४७ सालमा नेपालमा बहुदलीय व्यवस्था पुनःस्थापना हुनुअघि भण्डारीलाई एमाले पार्टीभित्र पनि सीमित व्यक्तिहरूले मात्र चिन्थे।
उनी त्यसबेला भूमिगत राजनीतिक गतिविधिमा सक्रिय थिए। तर बहुदलीय व्यवस्था सुरु भएपछि उनी खुला राजनीतिमा देखा परे। र छोटो समयमै देशव्यापी रूपमा परिचित बन्न पुगे। त्यसपछि उनका भाषण र राजनीतिक अभिव्यक्तिहरूले जनताको ठूलो ध्यान आकर्षित गर्न थाले।
बहुदल आएपछि भण्डारीका सार्वजनिक कार्यक्रमहरूमा असाधारण भीड देखिन थाल्यो। कतिपय स्थानमा त उनले भाषण सुरु गरेको केही समयमै हजारौँ मानिस उपस्थित भइहाल्थे।
विशेषगरी काठमाडौंको खुलामञ्चलगायत ठूला सभाहरूमा उनको भाषण सुन्न ठूलो जनसागर जम्मा हुने गर्थ्यो। उनका भाषणका क्रममा दर्शकदीर्घाबाट लगातार ताली र उत्साहपूर्ण प्रतिक्रिया आउने गर्थ्यो। जसले वातावरणलाई निकै उत्साहित बनाउँथ्यो।
उनलाई तत्कालीन समयका सबैभन्दा प्रभावशाली वक्ताहरूमध्ये एक मानिन्थ्यो। उनको भाषण शैली सरल भए पनि गहिरो अर्थ बोकेको हुन्थ्यो।
जनजीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयवस्तुहरू उनी प्रस्तुत गर्थे। नेपाली समाजको वास्तविक अवस्था, जनताको समस्या र राजनीतिक परिवर्तनको आवश्यकताबारे उनी खुलेर बोल्थे।
भाषणमा प्रयोग हुने ठेट नेपाली शब्द, मिठासपूर्ण प्रस्तुति र तार्किक शैलीले उनलाई अरू नेताभन्दा अलग बनाएको थियो।
उनको अभिव्यक्तिमा कहिलेकाहीँ कडा राजनीतिक आलोचना पनि सुनिन्थ्यो। तत्कालीन राजनीतिक व्यवस्थाप्रति स्पष्ट र साहसी धारणा राख्ने भएकाले उनलाई युवाहरूले विशेष रूपमा मन पराउँथे।
उनी जनताको समस्या बुझ्ने मात्र होइन, त्यसलाई राजनीतिक एजेन्डामा रूपान्तरण गर्न सक्ने नेताका रूपमा चिनिन्थे।
अन्तर्राष्ट्रिय स्तरमा पनि उनको चर्चा भएको पाइन्छ। विदेशी सञ्चारमाध्यमहरूले उनको राजनीतिक शैली र विचारधाराबारे सामग्री प्रकाशित गरेका थिए। कतिपय विश्लेषकहरूले उनलाई नेपालका प्रभावशाली राजनीतिक व्यक्तित्वमध्ये एकका रूपमा उल्लेख गरेका थिए। जसले उनको छवि अन्तर्राष्ट्रिय स्तरमा पनि स्थापित गर्यो।
तर भण्डारी र तत्कालीन एमालेका संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगा क्षेत्रमा भएको सवारी दुर्घटनामा निधन भएपछि नेपाली राजनीतिमा ठूलो खालीपन सिर्जना भयो। यो घटनालाई लिएर विभिन्न प्रकारका राजनीतिक धारणा र प्रश्नहरू उठ्दै आएका छन्। यद्यपि, घटनाको वास्तविक कारणबारे पूर्ण र स्पष्ट निष्कर्ष भने अझै सार्वजनिक रूपमा स्थापित हुन सकेको छैन।
त्यसपछिको समयमा नेपाली राजनीति विभिन्न चरणहरू पार गर्दै अघि बढ्यो। एमालेका नेताहरू पटक-पटक सरकारको नेतृत्वमा पुगे। भण्डारीकी पत्नी विद्यादेवी भण्डारी पनि पछि देशको राष्ट्रपतिको जिम्मेवारीमा पुगिन्। तर दासढुंगा घटनासम्बन्धी प्रश्नहरू भने लामो समयदेखि ज्यूँका त्यूँ छन्।
२०४७ साल चैत ५ गते काठमाडौंमा भएको एक चुनावी सभामा भण्डारीले दिएको मन्तव्य सबैभन्दा चर्चित थियो । यहीँबाट उनले तत्कालिन राजालाई चुनौति दिएका थिए ।
त्यो चुनावीसभामा उनले गरेको भाषणको केहि अंश जस्ताको त्यस्तै :
‘हामीले त यो भनेका छौँ जुन त्रिपक्षीय सम्झौता हो। त्यो त्रिपक्षीय सम्झौतालाई पालन गरेर ढुक्कसँग कुनै हात नलम्काइकन, आँखा नचम्काइकन राजा यदि बसिरहन्छन् भने अहिले हामीलाई केही आपत्ति छैन। राजा मान–सम्मान पाएर बसिरहुन्।
यो कुरा सुन्दाखेरी, यो कुरालाई हामीले बाहिर अभिव्यक्त गर्दाखेरी धेरै ठाउँबाट हाम्रा केही कम्युनिष्ट आन्दोलनभित्रकै मित्रहरूले हामीलाई भनेका छन्, ‘यिनीहरू त राजावादी भए।’
अब मैले यसको धेरै ठाउँमा खण्डन गरेको छु। र म यहाँ पनि दुई शब्द के राख्न चाहन्छु भने अहिलेको यो शक्ति-सन्तुलनको स्थितिमा, वर्गसंघर्षको स्थितिमा राजाले शान्तिका साथ हकअधिकार र राजनीतिक अधिकारका कुराहरू जनतालाई सुम्पिएर मानसम्मानको उपभोग गर्दै त्यस ढंगले बसिरहन्छन् भने अहिलेलाई हामीलाई कुनै आपत्ति छैन भनेका हौं। र यो भन्दाखेरी अर्थात् राजासँग सम्झौता गर्दाखेरी हामी अराजावादी भएका छैनौं।
हामी राजावादी होइनौं। नोट गरेर राखे हुन्छ पत्रकार बन्धुहरूले। कृपा गरेर यो लेखिदिए हुन्छ कि यो एकीकृत पार्टी राजावादी पार्टी होइन। राजालाई मान्ने हाम्रो राजनीतिक विश्वास होइन। राजालाई मान्नु बाध्यता हो। अहिलेको स्थितिको यो कुरा नारायणहिटीले पत्तो पाए पनि केही बिग्रँदैन।
तर मेरो बुद्धिजीवीहरूलाई अनुरोध छ। पत्रकारहरूलाई एउटा अनुरोध छ कि कुरा के भने तपाईंहरूले कहिल्यै राजा वीरेन्द्रलाई मौका पाएर सोध्नुभएको छ ? कि महाराज नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्सवादी लेनिनवादीप्रति महाराजको के धारणा छ ? अब यो मेरो प्रश्न सुन्दा धेरैलाई यसले बडो अचाक्ली र नहुने खालको प्रश्न गर्यो भन्ने पनि त मनमा लाग्ला। किन ? हामी दुइटा राजनीतिक पक्षहरू, दुइटा राजनीतिक शक्तिहरू। राजा एउटा शक्ति हो र कम्युनिष्ट अर्को शक्ति हो। अनि त्यसमा के त्यस्तै नियतिले निश्चित गरेको छ कि हामीले नै राजाप्रति जम्लाहा हात गरेर उभिनु परोस् र राजाले चाहिं हामीसँग जम्लाहा हात गर्नु नपरोस्। त्यसो हुँदा यो पारस्परिक सवाल हो।
अहिले त राजाले पनि हामीलाई समाप्त पार्न चाहेका थिए। सकेनन्। सकेको भए राजाले हामीलाई यस ढंगले मैदानमा आउन दिने थिएनन्। धेरै त उनले समाप्त पनि पारे। र कुनै पनि फटाहाले राजाको अनुकम्पाद्वारा यो प्रजातन्त्र आएको छ भनेर प्रचार गर्छ भने गर्दै रहोस्। चैत २७ गते गिरिजाबाबुको पनि त्यस्तै भनाइ थियो।
तर पनि दुनियाँलाई थाहा छ कि २०४६ साल फागुन ७ गतेदेखि चैत २६ गतेसम्म यहाँ सयौं आन्दोलनकारीहरू जुन हताहत हुनुपर्यो, त्यो अरू कसैको आदेशले होइन। त्यो मरिचमानको कुनै त्यस्तो बुता थिएन कि मान्छे मार्न आँट गरोस् त्यसले।
त्यो त महाराजाको कृपा हो भन। यत्रो घोडामा सवार भएर, मदले मात्तिएर, आँखा चिम्लिएर तीस हजारभन्दा बढ्ता मान्छेहरू मारेर भए पनि पञ्चायतलाई जोगाउनुपर्छ भनेर भन्ने महाराज र महारानीहरू घोडाबाट ओर्लिएर आन्दोलनकारीहरूसँग सम्झैता गर्न आउनुपर्यो । महाराजले, बादशाहले घोडाबाट ओर्लिएर जम्लाहा हात गर्नुपर्यो।
त्यसो हुँदा यो अनुकम्पाले आएको प्रजातन्त्र होइन। र अब पनि यो थाहा पाएर केही बिग्रिँदैन। तर मैले भन्न खोजेको कुरा के हो भने यो बाध्यताको कुरा हो कि हामीले यसबेला राजासँग सम्झौता गर्नुपर्यो । र अब यो बाध्यतापूर्वक नै सम्झौता गरिए भए पनि हामी फेरि वचनबद्धताप्रति इमानदार भएर उभिन चाहन्छौं।
मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने हो भने, यदि सण्डमुण्डहरूलाई नै अगाडि लिएर आउने हो भने महाराजले पनि श्रीपेच उतारेर, सिंहासनमा राखेर, मैदानमा नेता भएर आउनुपर्यो ताकि प्रतिद्वन्द्विता गर्न सकियोस्।
यसो भएको हुनाले यो त बाध्यताको कुरा हो। र यदि अघि मैले अनुरोध गरेँ, यहाँहरूसँग कि राजासँग प्रश्न गर्ने हो भने मलाई लाग्छ, शायद राजाले पनि भन्नेछन् कि यो त एउटा बाध्यताको कुरा हो, म त कहाँ कम्युनिष्ट मान्छु र ? यसो हुनाले यो पारस्परिक कुरा हो।’
