बालेन सरकार मौन : सगरमाथा आधार शिविरमा फहरियो भारतीय झन्डा
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर क्षेत्रमा पछिल्लो समय अनाधिकृत तथा अवैधानिक गतिविधि बढ्दै गएको भन्दै सरकारी निगरानीमाथि प्रश्न उठ्न थालेको छ । आरोहण सिजनका क्रममा हजारौँ स्वदेशी तथा विदेशी आरोही, सहयोगी टोली, गाइड र पर्यटकहरू आधार शिविरमा पुग्ने गरे पनि त्यहाँ सरकारी उपस्थिति कमजोर हुँदा राष्ट्रिय संवेदनशीलतासँग जोडिएका गतिविधिसमेत भइरहेका गुनासा सार्वजनिक भएका हुन् ।
आरोहण दलका सदस्यहरूका अनुसार आधार शिविर क्षेत्रमा विभिन्न देशका टोलीहरूले आफूखुसी झन्डा राख्ने, प्रचारात्मक सामग्री प्रदर्शन गर्ने तथा अनुमति नलिइकन विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रवृत्ति बढ्दो छ । यस्ता गतिविधिले नेपालको राष्ट्रियता, सार्वभौमिकता र सगरमाथाको अन्तर्राष्ट्रिय गरिमामाथि असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
यस्ता गुनासाहरु दिनानुदिन बढीरहँदापनि प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) नेतृत्वको सरकार मौन रहेको छ।
यस वर्षको वसन्तकालीन आरोहण सिजनमा सगरमाथाबाट सरकारले उल्लेख्य राजस्व सङ्कलन गरेको छ । पर्यटन विभागका अनुसार सयौँ विदेशी आरोहीलाई अनुमति दिइएको छ भने त्यसबाट करोडौँ रुपैयाँ राजस्व संकलन भएको छ । तर राजस्व सङ्कलन उच्च भए पनि आधार शिविर क्षेत्रमा प्रभावकारी नियमन र निगरानी हुन नसकेको भन्दै आलोचना बढेको छ ।
हालै सामाजिक सञ्जालमा भाइरल बनेको एउटा तस्वीरले यो विषयलाई थप चर्चामा ल्याएको छ । उक्त तस्वीरमा एउटा टेन्टमा नेपाल र भारत दुवै देशका झन्डा राखिएको देखिए पनि भारतीय झन्डा ठूलो आकारमा र नेपाली झन्डा सानो आकारमा देखिएको थियो । त्यसपछि सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको थियो । कतिपयले यसलाई नेपालको राष्ट्रिय अस्मितासँग जोडेर आलोचना गरेका थिए भने केहीले यसलाई सामान्य प्रचारात्मक गतिविधि मात्र भएको बताएका थिए ।
उक्त झन्डा इन्डो-तिब्बत सीमा प्रहरीसँग सम्बन्धित टोलीले राखेको हुनसक्ने अनुमान गरिए पनि त्यसबारे आधिकारिक पुष्टि भने हुन सकेको छैन । सम्बन्धित निकायहरूले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।
सगरमाथा आधार शिविरमा पर्यटन विभागको फिल्ड कार्यालय रहे पनि सीमित जनशक्ति, न्यून स्रोत-साधन र जटिल भूगोलका कारण प्रभावकारी अनुगमन गर्न कठिन भइरहेको सरकारी अधिकारीहरू बताउँछन् । पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले कठिन हिमाली वातावरणमा काम गर्नुपर्ने भएकाले चुनौती धेरै रहेको स्वीकार गरे ।
उनका अनुसार आधार शिविरमा हाल पाँच जनाको मात्रै सरकारी टोली खटिएको छ । स्वास्थ्य समस्या, अत्यधिक चिसो, अक्सिजनको कमी तथा आवश्यक सामग्रीको अभावका कारण लामो समयसम्म कर्मचारी टिकेर काम गर्न कठिन हुने अवस्था रहेको उनले बताए ।
‘हामीसँग सीमित जनशक्ति छ । जटिल भूगोल र मौसमका कारण सबै गतिविधिमा तत्काल निगरानी गर्न सहज छैन,’ महानिर्देशक लामिछानेले भने, ‘तर पनि टोलीले आफ्नो क्षेत्राधिकारभित्र रहेर अधिकतम काम गरिरहेको छ । अवैध गतिविधि नियन्त्रणका लागि सक्रियता बढाइएको छ ।’
उनले सगरमाथा नेपालको अन्तर्राष्ट्रिय गौरवको प्रतीक भएकाले यसको मर्यादा जोगाउन सरकार गम्भीर रहेको पनि बताए । केही कमजोरीलाई अतिरञ्जित ढंगले प्रस्तुत नगर्न आग्रह गर्दै उनले आरोही र पर्यटकहरूको अत्यधिक चापका बीच व्यवस्थापन चुनौतीपूर्ण बनेको उल्लेख गरे ।
आधार शिविर क्षेत्रमा कार्यरत केही आरोहण गाइड र पर्यटन व्यवसायीहरूले भने सरकारी उपस्थिति अझ प्रभावकारी बनाउनुपर्ने बताएका छन् । उनीहरूका अनुसार आधार शिविरमा विभिन्न विदेशी टोलीहरूले प्रचारात्मक गतिविधि, अनधिकृत भिडियो छायांकन, व्यावसायिक ब्रान्ड प्रदर्शन तथा झन्डा राख्ने काम बढ्दो रूपमा गरिरहेका छन् ।
केही व्यवसायीहरूले सगरमाथा आधार शिविरलाई व्यवस्थित गर्न स्पष्ट आचारसंहिता आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार कुन प्रकारका झन्डा, प्रचार सामग्री वा गतिविधि अनुमति योग्य हुन् भन्ने विषयमा स्पष्ट नियम लागू गरिनुपर्छ ।
यता, पर्यटन विभागको फिल्ड कार्यालयले भने अनुमति बिना राखिएका झन्डा तथा अन्य सामग्री हटाइसकेको जनाएको छ । विभागले आधार शिविर क्षेत्रमा हुने अनाधिकृत गतिविधिमाथि निगरानी बढाइएको र आवश्यक परे थप जनशक्ति परिचालन गरिने जानकारी दिएको छ ।
