युक्रेनका माक्सिम र बेल्जियमकी केमिलीलाई एक्सट्रिम ट्रायथलन उपाधि
कास्की। पोखरामा आज सम्पन्न पाँचौँ संस्करणको हिमालयन एक्सट्रिम ट्रायथलनको उपाधि पुरुषतर्फ युक्रेनका माक्सिम ब्रानेट्स र महिलातर्फ बेल्जियमकी केमिली एटिएनले जितेका छन् ।नेपालको साहसिक पर्यटन र खेलकुदलाई अन्तरराष्ट्रियस्तरमा चिनाउने उद्देश्यले हिमालयन एक्सट्राइले हरेक वर्ष पोखरामा यो प्रतियोगिता आयोजना गर्दै आएको छ । यो प्रतियोगिता विश्वकै कठिन मानिन्छ ।
एक्सट्रिम ट्रायथलनमा तीन किमी ८०० मिटर फेवातालमा पौडी, १७५ किमी साइक्लिङ र ४३ किमी पर्वतीय दौड समावेश रहेको थियो । प्रतियोगितामा माक्सिमले १८ घण्टा आठ मिनेटमा निर्धारित दूरी पूरा गर्दै च्याम्पियन बने । प्रतियोगितामा युक्रेनकै दिमित्रो शारोभ द्वितीय र फ्रान्सका वेइमार गोमेज तेस्रो हुन सफल भए ।
त्यसैगरी, महिलातर्फ च्याम्पियन बनेकी केमिलीले १८ घण्टा ५५ मिनेटमा दौड पूरा गरिन् । अमेरिकाकी लिभ डिट्जेल दोस्रो तथा अष्ट्रेलियाकी रुथ वाकर तेस्रो स्थान हासिल गर्न सफल भइन् ।
हिमालयन एक्सट्रिम ट्रायथ्लन एक्सट्राइ वल्र्ड टुरको साझेदार प्रतियोगिता हो । प्रतियोगितामा सहभागी खेलाडीले २०० एक्स–पोइन्ट्स प्राप्त गर्ने प्रतियोगिता आयोजक संस्था हिमालयन एक्सट्राइका रेश डाइरेक्टर रिकेश योन्जनले बताए ।
सहभागी खेलाडीले शनिबार बिहान पोखराको फेवातालमा पौडीबाट प्रतियोगिता सुरु गरेका थिए । पौडीपछि प्रतियोगीहरू साइक्लिङ सुरु गरे । उनीहरू पोखरा, कुश्मा हुँदै बाग्लुङ पुगेर फर्किएर कास्कीको काँडेमा पुगेर साइक्लिङ अन्त्य गरेका थिए । त्यसपछि सोही स्थानबाट ४३ किमी दौड सुरू भएको थियो ।
सो दौड काँडे हुँदै चार हजार मिटर उचाइको मर्दी हिमालको भ्यू प्वाइन्टमा पुगेर फर्किँदै माछापुच्छ्रे गाउँ पालिकास्थित ल्वाङमा पुगेर सम्पन्न भएको थियो । प्रतियोगितामा विभिन्न १६ देशका महिला तथा पुरुष खेलाडीसँगै सर्पोटिङ स्टाफ सहित ८० भन्दा बढीको सहभागिता रहेको योन्जनले बताए ।
नेपालको कठिन भूगोल, उच्च हिमाली मार्ग र चुनौतीपूर्ण मौसमबीच सम्पन्न यस प्रतियोगिताले साहसिक खेल पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुगेको बताइन्छ । प्रतियोगिताका विजेता खेलाडी, सहभागी एवं सहयोगीलाई आज साँझ पोखरा लेकसाइडमा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
