रियललाई २-० ले हराउँदै बार्सिलोनाले जित्यो ‘ला लिगा’ उपाधि
एजेन्सी। बार्सिलोनाले सानदार प्रदर्शन गर्दै ला लिगाको उपाधि आफ्नो नाम गरेको छ। मार्कस रासफोर्ड र फेरान टोरेसको सुरुवाती गोलको मद्दतले बार्सिलोनाले आइतबार रियल म्याड्रिडलाई २–० ले पराजित गर्दै क्याम्प नोउमा उपाधि सुनिश्चित गरेको हो।
बार्सिलोना खेलको सुरुवाती १८ मिनेटभित्रै २–० ले अग्रता लिन सफल भएको थियो र त्यसपछि खेलमा रियल म्याड्रिडले फर्कने खासै अवसर पाउन सकेन। यो हार रियलका लागि ठूलो धक्का बनेको छ, किनभने आफ्ना क्लासिको प्रतिद्वन्द्वीले डर्बी जित्दै उपाधि जितेको यो पहिलो पटक हो।
किलियन एम्बाप्पे अनुपस्थित रहँदा, फेडेरिको भाल्भेर्दे पनि चोटका कारण टोलीमा उपलब्ध थिएनन्। त्यसबाहेक पनि रियलले अपेक्षित प्रदर्शन गर्न सकेन।
खेलको नवौं मिनेटमै एन्टोनियो रुडिगरले पेनाल्टी क्षेत्र नजिकै फेरान टोरेसलाई फाउल गरेपछि रासफोर्डले उत्कृष्ट फ्रिकिकमार्फत पहिलो गोल गरे।
१८ औं मिनेटमा बार्सिलोनाले अग्रता दोब्बर बनायो। फेरमिन लोपेजको लामो पासलाई दानी ओल्मोले नियन्त्रणमा लिँदै दिएको पासमा टोरेसले थिबो कोर्टुवा विरुद्ध सहजै गोल गरे।
रियलका गोन्जालो गार्सियाले राम्रो अवसर गुमाउँदा बार्सिलोनाका एरिक गार्सियाले अन्तिम क्षणमा उत्कृष्ट बचाउ गरेका थिए। पहिलो हाफमै रासफोर्ड र ओल्मोले तेस्रो गोल गर्ने अवसर पनि गुमाएका थिए।
दोस्रो हाफको सुरुमै राउल एसेन्सियो र दानी ओल्मोबीचको टकरावपछि खेलमा केही तनाव देखिएको थियो। त्यसपछि कोर्टुवाले फेरान टोरेसको अर्को प्रयास रोक्दै थप गोल हुन दिएनन्।
जुड बेलिङ्घमले ब्राहिम डियाजको पासमा गोल गरे पनि अफसाइड दिइएपछि रियलको खेलमा फर्कने सम्भावना समाप्त भयो।
अन्ततः बार्सिलोनाले पूर्ण समयको सिट्टीसँगै उपाधि उत्सव मनाएको छ।
यो जित प्रशिक्षक हान्सी फ्लिकका लागि भावनात्मक पनि रह्यो, किनभने खेलकै दिन उनका बुबाको निधन भएको थियो। तर उनी टोलीसँगै डगआउटमा उपस्थित रहे।
यो एल क्लासिको इतिहासमा दोस्रो पटक हो, जहाँ ला लिगा उपाधि सिधै बार्सिलोना र रियलबीचको खेलबाट निर्णय भएको हो। यसअघि सन् १९३२ मा यस्तो भएको थियो।
यो उपाधिसँगै फ्लिक आफ्नो पहिलो दुई सिजनमै ला लिगा जित्ने चौथो प्रशिक्षक बनेका छन्। यसअघि पेप ग्वार्डिओला, लुइस एनरिके र अर्नेस्टो भाल्भेर्देले मात्र यस्तो उपलब्धि हासिल गरेका थिए।
दुवै टोलीबीच २६४ प्रतिस्पर्धात्मक एल क्लासिको खेलपछि अब बराबरी अवस्था पुगेको छ, जसमा दुवैले समान १०६ खेल जितेका छन् भने ५२ खेल बराबरीमा सकिएका छन्।
