`

आप्रवासी बोकेको डुङ्गा डुब्यो, १४ जना बेपत्ता

Nepal One HD २९ वैशाख २०८३ १०:४८
विश्व

एजेन्सी। मलेसियाको पश्चिमी तटीय क्षेत्रमा पर्ने पाङ्कोर टापुनजिक इन्डोनेसियाली आप्रवासी बोकेको डुङ्गा डुब्दा १४ जना बेपत्ता भएका छन्। कागजातविहीन ३७ जना आप्रवासी सवार डुङ्गा दुर्घटनापछि समुद्रमा व्यापक खोज तथा उद्धार अभियान सञ्चालन गरिएको अधिकारीहरूले बताएका छन्।

पेराकस्थित मलेसियन मेरिटाइम इन्फोर्समेन्ट एजेन्सी (एमएमइए) का अनुसार सोमबार बिहान एक स्थानीय माझीले समुद्रमा केही व्यक्तिहरू तैरिरहेको देखेपछि घटनाबारे जानकारी दिएका थिए। त्यसपछि सुरक्षाकर्मीहरूले तत्काल उद्धार अभियान सुरु गरेका थिए।

प्रारम्भिक अनुसन्धानअनुसार डुङ्गामा सवार ३७ जनामध्ये २३ जनाको उद्धार गरिएको छ भने बाँकी १४ जनाको अवस्था अझै अज्ञात रहेको छ। बेपत्ता व्यक्तिहरूको खोजीका लागि समुद्री गस्ती डुङ्गा, हेलिकप्टर तथा विमान परिचालन गरिएको एमएमइएले जनाएको छ।

पेराक एमएमइएका निर्देशक मोहम्मद शुकरी खोतोबले जारी गरेको विज्ञप्तिअनुसार ती आप्रवासीहरू मे ९ मा इन्डोनेसियाको किसरन क्षेत्रबाट मलेसियातर्फ प्रस्थान गरेका थिए। उनीहरू पेनाङ, सेलाङ्गोर, तेरेङ्गानु, क्वालालम्पुरलगायत विभिन्न क्षेत्रमा पुग्ने योजनामा रहेका बताइएको छ।

उद्धार गरिएका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।

मलेसिया दक्षिण तथा दक्षिण–पूर्वी एसियाका लाखौँ आप्रवासी कामदारहरूको प्रमुख श्रम गन्तव्यका रूपमा चिनिन्छ। विशेषगरी निर्माण, कृषि र कारखाना क्षेत्रमा काम गर्न धेरै आप्रवासीहरू अवैध रूपमा समुद्री मार्ग प्रयोग गरेर मलेसिया पुग्ने प्रयास गर्ने गर्छन्।

तर मानव तस्करी र अवैध आप्रवासनसँग जोडिएका यस्ता समुद्री यात्रा प्रायः जोखिमपूर्ण हुने गरेका छन्। क्षमताभन्दा बढी यात्रु बोकिने, कमजोर डुङ्गा प्रयोग हुने तथा खराब मौसमका कारण दुर्घटनाहरू दोहोरिने गरेका छन्।

यसअघि सन् २०२५ को नोभेम्बरमा पनि थाई–मलेसिया समुद्री सीमाक्षेत्रमा आप्रवासी बोकेको डुङ्गा पल्टिँदा ३६ जनाको मृत्यु भएको थियो। त्यस घटनापछि पनि मानव तस्करी नियन्त्रण र समुद्री सुरक्षालाई लिएर मलेसियामाथि दबाब बढेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *