विद्यार्थी र ट्रेड युनियनमाथि प्रतिबन्ध कायम रहे गम्भीर परिस्थिति आउन सक्छ : प्रचण्ड
काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थी संगठन र ट्रेड युनियनमाथिको प्रतिबन्धलाई अस्वीकार्य बताएका छन्। नयाँ संसदमा पहिलोपटक सम्बोधन गर्दै उनले सरकार पञ्चायती शैलीमा अघि बढिरहेको टिप्पणी गरे।
प्रचण्डले विद्यार्थी संगठनमाथिको प्रतिबन्धलाई राजनीतिक इतिहासमाथिको अपमानका रूपमा व्याख्या गरे।
उनले भने, ‘लोकतन्त्रको रोडम्याप लोकतन्त्रलाई बलियो बनाउने र संविधानको रक्षा गर्दै विस्तारित गर्ने हुनुपर्छ। नागरिकलाई आवाज उठाउन प्रतिबन्धित गरेर लोकतन्त्र बलियो हुन सक्दैन।’
उनले विद्यार्थी संगठनको भूमिका सुधार आवश्यक भए पनि त्यसलाई समाप्त पार्ने वा आवाज नै थुन्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारे।
उनका अनुसार, ‘विद्यार्थी संगठनमा सुधार गर्नुपर्ने कुरा सुधार गरौँ। तर, आवाज नै थुन्ने कुरा विलकुल स्वीकार्य हुन सक्दैन।’
त्यस्तै, उनले ट्रेड युनियनमाथिको प्रतिबन्धलाई पनि अलोकतान्त्रिक भन्दै आलोचना गरे। विश्वका लोकतान्त्रिक मुलुकहरूले ट्रेड युनियनलाई श्रमिक अधिकारको रूपमा स्वीकार गरेको उल्लेख गर्दै उनले नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको विपरीत नजान सरकारलाई आग्रह गरे।
प्रचण्डले चेतावनी शैलीमा भने, ‘विद्यार्थी र ट्रेड युनियनमाथि प्रतिबन्ध कायम रहे गम्भीर परिस्थिति आउन सक्छ, अहिले म यति मात्र भन्न चाहन्छु।’
