`

पाकिस्तान-अफगानिस्तान सीमामा तनाव : तीन महिनामै सयौँ नागरिकको मृत्यु

Nepal One HD २९ वैशाख २०८३ १६:४९
बिशेष

काठमाडौं । युनाइटेड नेसन्स असिस्टेन्स मिसन इन अफगानिस्तान (युएनएएमए) ले पाकिस्तान र अफगानिस्तानबीच बढ्दो सीमापार सैन्य तनावका कारण चालु वर्षको पहिलो तीन महिनामै ठूलो संख्यामा सर्वसाधारणको ज्यान गएको जनाएको छ ।

युएनएएमएका अनुसार जनवरी १ देखि मार्च ३१ सम्म सरकारी सुरक्षा निकाय र पाकिस्तानी सेनाबीच भएका झडपमा कम्तीमा ३७२ अफगान नागरिकको मृत्यु भएको छ भने ३९७ जना घाइते भएका छन्।

प्रतिवेदनअनुसार मृत्यु हुनेमध्ये ३१३ पुरुष, ४६ बालबालिका र १३ महिला रहेका छन् । हवाई आक्रमण तथा सीमापार गोलीबारीलाई मुख्य कारणका रूपमा उल्लेख गरिएको छ । साथै एक मानवअधिकारकर्मीको पनि मृत्यु भएको जनाइएको छ ।

सन् २०२१ मा तालिबान पुनः सत्तामा फर्किएपछि पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध क्रमशः चिसिँदै गएको थियो । पछिल्लो समय सीमाक्षेत्रमा तनाव झन् बढेको देखिएको छ ।

प्रतिवेदनमा गत फेब्रुअरीमा पाकिस्तानका रक्षा मन्त्रीले सार्वजनिक रूपमा सैन्य द्वन्द्वको चेतावनी दिएको उल्लेख गरिएको छ । पाकिस्तानले अफगान तालिबानमाथि आतंकवादी समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ भने अफगान पक्षले पनि पाकिस्तानले आफ्ना विरोधी समूहलाई संरक्षण दिएको दाबी गर्दै आएको छ ।

युएनएएमाले सार्वजनिक गरेको तथ्यांक सन् २०११ यता अभिलेख राख्न थालेपछिकै सबैभन्दा उच्च नागरिक क्षति भएको जनाएको छ।

पाकिस्तानी पक्षले भने सो अवधिमा आफ्ना १३० नागरिक तथा सुरक्षाकर्मी मारिएको जानकारी दिएको छ । इस्लामाबादले सैन्य कारबाही आतंकवादी तथा सैन्य संरचनामा मात्र केन्द्रित रहेको र नागरिक संरचना लक्षित नगरिएको दाबी गरेको छ ।

गत सप्ताहान्तमा भएको झडपमा १५ जनाको मृत्यु भएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमध्ये अधिकांश प्रहरी अधिकारी रहेका थिए ।

राष्ट्रसंघीय प्रतिवेदनले प्रभावित क्षेत्रमा स्वास्थ्य संस्थामा भएको क्षतिको विवरण संकलन गर्न, बेपत्ता व्यक्तिहरूको खोजीमा सहजीकरण गर्न तथा नागरिक बस्ती लक्षित गतिविधिबाट टाढा रहँदै अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

यसैबीच, चीनमा भएको हालैको कूटनीतिक वार्तापछि पाकिस्तान र अफगानिस्तानले तनाव न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएको विवरण पनि सार्वजनिक भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *