युक्रेनमा रुसी आक्रमणको मुद्दा उठाउन राष्ट्रपति ट्रम्पलाई जेलेन्स्कीको आग्रह
किएभ। अमेरिकी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई चिनियाँ नेता सी जिनपिङसँगको भेटका क्रममा युक्रेनमाथि रुसको आक्रमण अन्त्य गर्ने विषयमा छलफल गर्न आग्रह गर्नुभएको छ।
चीन रुसको नजिकको आर्थिक र राजनीतिक साझेदार हो । रूसले सन् २०२२ मा युक्रेनमा आक्रमण सुरू गरेको थियो। बेइजिङले युक्रेन युद्धमा तटस्थ अडान लिएको छ । चीनले रूसी आक्रमणको कहिल्यै निन्दा गरेको छैन ।
“हामी हाम्रा अमेरिकी साझेदारसँग निरन्तर सम्पर्कमा छौँ,” जेलेन्स्कीले रोमानियामा आयोजित शिखर सम्मेलनमा भन्नुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकाका राष्ट्रपति ट्रम्प चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा चीनको तीन दिने औपचारिक भ्रमणमा हुनुहुन्छ । हामी युक्रेनमा अमेरिकी भूमिकाका लागि आभारी छौँ र थप आशा पनि गर्दछौँ कि युक्रेनविरुद्ध रूसी युद्ध अन्त्यको मुद्दा अहिले पनि उठ्नेछ ।”
दोस्रो विश्वयुद्धपछि युरोपमा जारी रक्तपातपूर्ण युद्ध अन्त्य गर्ने अमेरिकी नेतृत्वको प्रयास असफल भइरहेका बेला जेलेन्स्कीको यो टिप्पणी आएको हो ।
ट्रम्पको पहलमा गत साता रुस र युक्रेनबीच तीन दिने युद्धविराम भएको थियो तर यो अहिले अन्त्य भएको छ र मस्को र किएभले एक अर्काविरूद्ध ठूलो मात्रामा आक्रमण थालेका छन् ।
