टिपटो स्पोर्ट्स एकेडेमीद्वारा ‘थ्री अन थ्री फुटबल क्लिनिक तथा च्याम्पियनसिप २०२६’ आयोजना हुने
काठमाडौं । टिपटो स्पोर्ट्स एकेडेमीको आयोजनामा जेठ २ र ३ गते तारकेश्वर नगरपालिका अन्तर्गत सेश्मतीमा रहेको टिपटो स्पोर्ट्स हबमा ‘थ्री अन थ्री फुटबल क्लिनिक तथा च्याम्पियनसिप २०२६’ आयोजना हुने भएको छ ।
सन् २०२१ मा स्थापना भएको टिपटो स्पोर्ट्स एकेडेमी ले ग्रासरुट फुटबल विकास, युवा खेलाडीको सहभागिता वृद्धि तथा प्रशिक्षण कार्यक्रममार्फत खेलकुद विकासमा योगदान गर्दै आएको छ ।
कार्यक्रममा जापानका राष्ट्रिय स्तरका खेलाडी यासुहिरो नाबेटा सहभागी हुनेछन् । उनले क्लिनिक सेसनमार्फत नेपाली युवा खेलाडीहरूलाई विशेष प्रशिक्षण दिनेछन् ।
जेठ २ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म ३–३ फुटबल क्लिनिक सञ्चालन हुनेछ भने जेठ ३ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म च्याम्पियनसिप खेलाइनेछ ।
क्लिनिकमा विभिन्न एकेडेमी तथा विद्यालयबाट यू–१२, यू–१४ र यू–१६ उमेर समूहका करिब १५० खेलाडी सहभागी हुनेछन् ।
त्यस्तै च्याम्पियनसिपमा यू–१४ र यू–१६ समूहका ३२ टोलीले नकआउट प्रणालीमा प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक टोलीमा पाँच जना खेलाडी रहने व्यवस्था गरिएको छ, जसमा मैदानमा तीन जना खेल्नेछन् भने दुई जना वैकल्पिक खेलाडी रहनेछन् ।
प्रतियोगितामा विजेता तथा सहभागी खेलाडीहरूलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार कार्यक्रमको उद्देश्य नेपाली युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण र प्रतिस्पर्धात्मक अनुभव दिलाउनु हो ।
