`

ताइवानलाई स्वतन्त्रता घोषणा नगर्न ट्रम्पको चेतावनी

Nepal One HD २ जेठ २०८३ १२:०७
बिशेष

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्र घोषणा नगर्न चेतावनी दिएका छन् ।

बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भएको दुई दिने शिखर सम्मेलनपछि शुक्रबार फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले भने, ‘म कसैले स्वतन्त्रता घोषणा गरेको हेर्न चाहन्नँ ।’

ताइवानका राष्ट्रपति लाइ चिङ–तेले यसअघि नै ताइवान आफूलाई सार्वभौम राष्ट्र मानिसकेको र औपचारिक स्वतन्त्रता घोषणा आवश्यक नभएको धारणा सार्वजनिक गर्दै आएका छन् ।

चीनले ताइवानलाई आफ्नो अभिन्न भूभाग दाबी गर्दै आएको छ । आवश्यक परे बल प्रयोग गरेर कब्जा गर्न सक्ने सम्भावनालाई समेत बेइजिङले अस्वीकार गरेको छैन ।

यसअघि पनि ट्रम्पले ताइवानका विषयमा आफूले कुनै पक्षमा स्पष्ट प्रतिबद्धता नजनाएको बताएका थिए । उनले भने, ‘हामीले युद्ध लड्नका लागि ९ हजार ५०० माइल यात्रा गर्नुपर्ने हुन्छ । म त्यो चाहन्नँ । म उनीहरू शान्त रहून् भन्ने चाहन्छु । म चीन पनि शान्त रहोस् भन्ने चाहन्छु ।’

वासिङ्टन फर्किने क्रममा विमानभित्र पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू र सीबीच ताइवानका विषयमा लामो छलफल भएको जानकारी दिएका थिए । तर, चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले सैन्य रूपमा रक्षा गर्छ कि गर्दैन भन्ने प्रश्नमा भने उनले प्रतिक्रिया दिन अस्वीकार गरे ।

ट्रम्पका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङ ताइवानको विषयमा अत्यन्त संवेदनशील छन् र कुनै पनि स्वतन्त्रता आन्दोलन स्वीकार गर्न चाहँदैनन् । चिनियाँ सरकारी सञ्चारमाध्यमले पनि वार्ताका क्रममा सीले ताइवानसम्बन्धी विषयलाई अत्यन्त गम्भीर रूपमा उठाएको उल्लेख गरेका छन् ।

चीन र ताइवानबीच द्वन्द्वको सम्भावना देख्नुहुन्छ भन्ने प्रश्नमा ट्रम्पले भने, ‘मलाई त्यस्तो लाग्दैन । मलाई लाग्छ हामी ठीक हुनेछौँ । सी युद्ध चाहँदैनन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *