पुराना दलसँग दूरी कायम गर्ने रणनीतिमा श्रम संस्कृति पार्टी
काठमाडौं । सुकुम्बासी बस्तीमा विना विकल्प डोजर चलाएर शक्तिहीन नागरिकमाथि सरकारले गरेको दमन र संसद् छलेर अध्यादेशको बाढी नै ल्याएपछि समान धारणा बनाएर त्यसको प्रतिवाद गर्न विपक्षी दलहरूको बैठक दुईपटक बस्यो ।
पहिलो बैठक १६ वैशाख र दोस्रो बैठक २७ वैशाखमा बसेको थियो । बैठकको संयोजन प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बले गरेका थिए ।
पहिलो बैठकमा विपक्षी दलहरू कांग्रेस, एमाले, नेकपा र राप्रपा सहभागी भए । दोस्रो बैठकमा राप्रपाले पाँचै जना सांसदहरू काठमाडौंमा २७ गते साँझ मात्रै आइपुग्ने भन्दै सहभागी हुन नसक्ने जनायो । श्रम संस्कृति पार्टीले भने दुवै बैठकमा सहभागी हुने भन्यो तर सहभागी भएनन् ।
बैठक प्रधानमन्त्री बालेन नेतृत्वको सरकारविरुद्ध साझा रणनीति बनाउन विपक्षी दलहरूबीच अघोषित मोर्चाबन्दीको प्रयास थियो । श्रम संस्कृति पार्टी भने त्यसबाट लगातार टाढियो ।
संसद्भित्र सरकारको सबैभन्दा चर्को आलोचकका रूपमा देखिने उक्त पार्टीले विपक्षी दलहरूको संयुक्त बैठकमा भने सहभागिता जनाएको छैन ।
आङ्देम्बेले भने भने, ‘गरिब सुकुम्बासीहरूलाई उठिबास लगाएर सरकारले जुन रबैया देखायो, त्यसबारे विपक्षी दलहरूको एउटै धारणा बनाऔँ भनेर बैठक बोलाइएको थियो । अध्यादेश ल्याएपछि कसरी अगाडि बढ्ने भनेर सरसल्लाह गर्न पनि बोलाइएको थियो । तर, उहाँहरू आउनुभएन । नआउनुको कारण पनि थाहा भएन ।’
श्रम संस्कृति पार्टीको यो अनुपस्थितिलाई धेरैले पुराना राजनीतिक दलहरूसँग दूरी कायम गर्ने रणनीतिका रूपमा हेरेका छन् । संसद्मा भने उक्त पार्टी सरकारप्रति निकै आक्रामक देखिन्छ ।
नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री संसद्मा उपस्थित नभएको भन्दै अध्यक्ष हर्क साम्पाङले ३१ वैशाखमा राजीनामासमेत माग गरेका थिए । प्रतिनिधिसभामा बोल्दै उनले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने संवैधानिक दायित्वबाट भाग्न नपाउने बताएका थिए ।
तर, संसद्भित्र सरकारमाथि प्रहार गरिरहे पनि श्रम संस्कृति पार्टी पुराना दलहरूसँग एउटै मोर्चामा उभिन तयार देखिएको छैन ।
पार्टीका एक पदाधिकारीका अनुसार आफूहरूलाई नयाँ शक्तिका रूपमा जनमत प्राप्त भएको र देशको वर्तमान राजनीतिक, आर्थिक तथा प्रशासनिक अवस्थाका लागि पुराना दलहरू नै जिम्मेवार भएकाले उनीहरूसँग कार्यगत एकता सम्भव नरहेको निष्कर्ष पार्टीभित्र बलियो छ ।
ती पदाधिकारीले भने, ‘हामी नयाँ शक्ति हौँ । अहिले देशलाई यो अवस्थामा र्पुयाउने पुराना दलहरू नै हुन् । जनताले त्यही विकल्प अस्वीकार गरेर हामीलाई मत दिएका हुन् । त्यसैले उनीहरूसँग सहकार्य गरेर हामी आफ्नो राजनीतिक सन्देश कमजोर बनाउन चाहँदैनौँ ।’
गत निर्वाचनबाट राष्ट्रिय राजनीतिमा उदाएको श्रम संस्कृति पार्टी अहिले प्रतिनिधिसभाको पाँचौँ ठूलो दल बनेको छ । निर्वाचन आयोगमा दर्ता भएको केही महिनामै राष्ट्रिय दलको मान्यता पाएको उक्त पार्टीले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उल्लेखनीय मत ल्याएको थियो ।
धरानका पूर्वमेयरसमेत रहेका अध्यक्ष हर्क साम्पाङले स्थापना गरेको उक्त पार्टीले श्रम, उत्पादन, स्वावलम्बन र पुराना दलविरुद्धको विकल्पलाई मुख्य राजनीतिक नाराका रूपमा अघि सारेको छ । पार्टीले आफूलाई परम्परागत शक्ति संरचनाभन्दा अलग रहेको दाबी गर्दै आएको छ ।
यद्यपि, श्रम संस्कृति पार्टीको यो रणनीतिले विपक्षी राजनीति कमजोर बन्ने खतरा पनि देखिएको छ । संसद्मा सरकारसँग प्रभावकारी रूपमा टक्कर दिन विपक्षी दलहरूबीच न्यूनतम समन्वय आवश्यक पर्ने भए पनि नयाँ र पुराना दलबीचको अविश्वासका कारण त्यो सम्भव हुन सकेको छैन ।
केही समयअघि सभामुख डीपी अर्याल ले बोलाएको प्रमुख सचेतक र सचेतकहरूको बैठकमा पनि श्रम संस्कृति पार्टी सहभागी भएको थिएन ।
त्यसपछि हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीलाई औपचारिक जानकारी नै नपठाइएको दाबी गरेका थिए ।
राजनीतिक विश्लेषकहरूका अनुसार आगामी दिनमा सरकारसँगको टकराव बढ्दै जाँदा श्रम संस्कृति पार्टी आफ्नो स्वतन्त्र राजनीतिक लाइनमै रहने कि मुद्दागत सहकार्यतर्फ खुला हुने भन्ने प्रश्न विपक्षी राजनीतिमा चासोको विषय बनेको छ ।
