`

राजेश र करिश्मालाई लिएर बमबहादुर कार्कीको नयाँ गीत सार्वजनिक

Nepal One HD ३ जेठ २०८३ ११:०६
मनोरञ्जन

काठमाडौं। लोकप्रिय लोकगायक बमबहादुर कार्कीले पानी संरक्षणको सन्देश बोकेको नयाँ गीत सार्वजनिक गरेका छन् । ‘पानको पात’ जस्ता चर्चित गीतका गायक कार्कीले यसपटक ‘म हुँ पानी सबको जिन्दगानी’ बोलको गीतमार्फत प्रकृति र मानव जीवनबीचको सम्बन्धलाई उठान गरेका हुन् । राजधानीमा आयोजित एक कार्यक्रममा गीतको भिडियोसमेत सार्वजनिक गरिएको छ ।

गायक कार्कीले गीतमा पानीको महत्व, यसको संरक्षण र मानव अस्तित्वसँगको सम्बन्धलाई मुख्य विषय बनाएका छन् । गीतमा शब्द र संगीत स्वयं कार्कीकै रहेको छ भने स्वरमा उनलाई शिवा आले कार्की, लोचन भट्टराई र अर्जुन सोनमले साथ दिएका छन् । संगीत संयोजन बिबी अनुरागीले गरेका हुन् ।

गीतको भिडियोमा लामो समयपछि राजेश हमाल र करिश्मा मानन्धरको जोडी एकसाथ देखिएको छ । भिडियोमा सगुन कार्कीको पनि अभिनय रहेको छ ।

नेपालका नदी, झरना, पहाड र प्राकृतिक दृश्यलाई समेटिएको भिडियोमार्फत ‘पानी नै जीवन हो’ भन्ने सन्देश प्रस्तुत गरिएको छ । देवेन्द्र पाण्डेको निर्देशनमा बनेको भिडियो हरि हुमागाईंले छायांकन गरेका छन् भने सम्पादन विकास दाहालले गरेका छन् । गीत गोरखा म्युजिकमार्फत सार्वजनिक गरिएको हो ।

गायक कार्कीले पानीको महत्वबारे नयाँ पुस्तालाई सचेत गराउने उद्देश्यले गीत तयार गरिएको बताए । उनले प्रकृति संरक्षणसँगै पानी जोगाउने जिम्मेवारी सबैको भएको उल्लेख गरे ।

अभिनेता राजेश हमालले गायक कार्कीको योगदानको प्रशंसा गर्दै उनको सदाबहार गीत ‘पानको पात’ नेपालमा मात्र नभई विश्वभर लोकप्रिय रहेको स्मरण गरे । अभिनेत्री करिश्मा मानन्धरले गीत र भिडियो उत्कृष्ट बनेको प्रतिक्रिया दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *