`

कास्की र नवलपुर गण्डकी प्रदेश टी–२० क्रिकेटको फाइनलमा

Nepal One HD ४ जेठ २०८३ २२:००
खेलकुद

कास्की। पोखरामा जारी चौथौ संस्करणको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि कास्की र नवलपुर भिड्ने भएका छन् ।पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न खेलमा कास्कीले स्याङ्जालाई र नवलपुरले तनहुँलाई पराजित गरी फाइनलमा स्थान बनाएका हुन् ।

कास्कीले सात विकेटले स्याङ्जालाई पराजित गरेको थियो । मौसमका कारण पाँच ओभरमा खेलाइएको खेलमा कास्कीले पाँच विकेट गुमाएर ४३ रन जोडेको थियो ।कास्कीका शिवरिन श्रेष्ठले सर्वाधिक २२ रन बनाए । जवाफी ब्याटिङ गरेको स्याङ्जाले निर्धारित ओभरमा ३६ रन मात्र बनायो । यसैगरी नवलपुरले तनहुँमाथि १०२ रनको फराकिलो अन्तरले जित निकाल्न सफल भयो ।

नवलपुरले टस जितेर व्याटिङ रोज्दै २० ओभरमा सात विकेट गुमाउँदै १८८ रन जोडेको थियो । ‘प्लेयर अफ दी म्याच’ बन्न सफल नवलपुरका रिजन काफ्लेले ४७ बलमा ७३ रन जोड्दै जितको आधार बनाएका थिए । जितका लागि १८९ रनको लक्ष्य पछ्याएको तनहुँले १४ ओभरको चौथो बलमा ‘अलआउट’ हुँदै जम्मा ८६ रन मात्र बनायो ।

गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा यही जेठ १ गतेदेखि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको ‘समूह ए’ मा कास्की, स्याङ्जा, बाग्लुङ र लमजुङ तथा ‘समूह बि’ मा नवलपुर, पर्वत, तनहुँ र म्याग्दी गरी आठ जिल्लाले सहभागिता जनाएका प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *