`

किन पक्राउ परे दुर्गा प्रसाईं ?

Nepal One HD ५ जेठ २०८३ ११:३०
राजनीति

काठमाडौँ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं सोमबार राति पर्साको वीरगञ्जबाट पक्राउ परे।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले प्रसाईंलाई वीरगञ्जस्थित दियालो होटलबाट नियन्त्रणमा लिएको हो। पक्राउका क्रममा प्रहरी र प्रसाईं पक्षबीच केहीबेर विवादसमेत भएको थियो। त्यतिबेला प्रहरीले पक्राउको कारणबारे स्पष्ट जानकारी दिएको थिएन।

हाल प्रसाईं प्रहरी हिरासतमै छन् भने प्रहरीका अनुसार उनीमाथि पछिल्ला केही दिनमा दिएका अभिव्यक्ति लगायतका विषयमा अनुसन्धान भइरहेको छ।

यद्यपि स्रोतका अनुसार प्रसाईं निकट समूहले मंगलबार बुटवलमा सरकारविरुद्ध प्रदर्शन गर्ने तयारी गरेको थियो। सुकुम्बासी समस्या, महँगी लगायतका विषय उठाएर प्रदर्शनको तयारी गरिएको प्रसाईं निकट एक व्यक्तिले बताएका छन्।

प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए। मंगलबार वीरगञ्जमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेको बताइएको छ।

योसँगै प्रसाईं सातौँ पटक पक्राउ परेका हुन्। यसअघि उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला तीन पटक पक्राउ परेका थिए। साथै, निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्की को कार्यकालमा पनि उनी तीन पटक पक्राउ परेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *