बनेपामा राखिएका सुकुमवासीलाई सरकारले कैदीजस्तो व्यवहार गर्यो : विक
काठमाडौं । नेकपा (एमाले)की सांसद विष्णुमाया बिक ले सुकुम्बासीलाई ‘होल्डिङ सेन्टर’मा कैदीसरह राखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा मंगलबार बोल्दै सांसद बिकले काठमाडौंबाट उठाएर बनेपामा राखिएका सुकुम्बासीहरूको अवस्था अत्यन्तै दयनीय रहेको बताइन्। उनले राज्य व्यवस्था तथा सुशासन समितिले बनेपास्थित होल्डिङ सेन्टरको अनुगमन गर्दा त्यहाँ ११० जना सुकुम्बासी राखिएको पाइएको जानकारी दिइन्।
उनका अनुसार होल्डिङ सेन्टरमा नर्सरीदेखि प्लस टुसम्म अध्ययनरत २२ जना बालबालिका तथा पाँच जना ब्याचलर तहका विद्यार्थीसमेत रहेका छन्। घरमा डोजर चलेपछि एक युवा बोल्न नसक्ने अवस्थामा पुगेको तथा पठाओ चलाएर जीविका चलाइरहेका व्यक्तिको रोजगारीसमेत खोसिएको उनले बताइन्।
‘सुकुम्बासीलाई कैदीजस्तो थुनिएको छ,’ उनले संसद्मा भनिन्।
सांसद बिकले घर भत्काइएपछि केही व्यक्ति मानसिक तनावमा रहेको, सुत्केरी महिला कुपोषणको सिकार बनेको तथा मुटुरोगी दुर्गा गुरुङले उपचार नपाइरहेको अवस्था देखिएको उल्लेख गरिन्। मानसिक समस्या भएका मलन तामाङको उपचारको व्यवस्था समेत नभएको उनले बताइन्।
उनले गरिबीलाई अपराधका रूपमा हेर्न नहुने धारणा राख्दै सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक रहेको बताइन्।
‘गरिब हुनु अपराध होइन, सुकुम्बासी हुन कसैलाई रहर हुँदैन,’ उनले भनिन्, ‘गरिब होइन, गरिबी हटाउने नीति आवश्यक छ।’
