एक संयुक्त कारबाहीमा १७५ लडाकु मारिएको दाबी
काठमाडौँ। इस्लामिक स्टेट दक्षिण अफ्रिका प्रदेश तथा इस्लामिक स्टेटविरुद्ध नाइजेरिया र अमेरिकाले सञ्चालन गरेको संयुक्त सैन्य अभियानमा १७५ जना लडाकु मारिएको दाबी गरिएको छ । नाइजेरियाली सेनाले उक्त कारबाहीलाई आतंकवादविरुद्धको निर्णायक अभियानका रूपमा व्याख्या गर्दै अमेरिकी सहकार्यको खुलेर प्रशंसा गरेको छ ।
नाइजेरियाको रक्षा मुख्यालयका अनुसार अमेरिकी सेनाको अफ्रिका कमान्ड (अफ्रिकम) सँगको सहकार्यमा गरिएको हवाई तथा स्थल आक्रमणमा आईएसआईएलसँग सम्बन्धित चेकपोस्ट, हतियार भण्डारण केन्द्र, रसद आपूर्ति संरचना, सैन्य सामग्री र आर्थिक सञ्जाललाई लक्षित गरिएको थियो ।
रक्षा प्रवक्ता मेजर जनरल समाइला उबाले मङ्गलबार सार्वजनिक गरेको विवरणमा मे १९, २०२६ सम्मको अभियानमा १७५ आतंकवादी मारिएको उल्लेख छ । उनका अनुसार उक्त कारबाहीले लामो समयदेखि सक्रिय चरमपन्थी समूहहरूलाई गम्भीर क्षति पुर्याएको छ ।
संयुक्त अपरेसनमा आईएसआईएसका विश्वव्यापी दोस्रो कमान्डर मानिएका अबु बिलाल अल मिनुकी पनि मारिएको दाबी गरिएको छ । ‘अबु माइनोक’ नामले चिनिने उनी साहेल र पश्चिम अफ्रिकाभर आईएसआईएसको आर्थिक, प्रचार तथा सैन्य गतिविधि समन्वय गर्ने प्रमुख व्यक्तिका रूपमा परिचित थिए ।
नाइजेरियाली सेनाले आईएसडब्लुएपीका अन्य वरिष्ठ सदस्य अब्द–अल वहाब, अबु मुसा अल मंगावी र अबु अलमुथान्ना अलमुहाजिर पनि सोही कारबाहीमा मारिएको जनाएको छ । उनीहरू संगठनको सञ्चार, प्रचार र आक्रमण योजनामा सक्रिय रहेको बताइएको छ ।
नाइजेरियाका राष्ट्रपति बोला अहमद तिनुबूले सामाजिक सञ्जालमार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति समर्थन र सहकार्यका लागि आभार व्यक्त गरेका छन् । उनले अभियानमा सहभागी सैनिकहरूको साहस र व्यावसायिक क्षमताको प्रशंसा गर्दै आतंकवादी अड्डाविरुद्ध थप प्रभावकारी कारबाही जारी रहने संकेत दिएका छन् ।
विश्लेषकहरूले पश्चिम एसियामा लगातार कमजोर बन्दै गएको आईएसआईएलले पछिल्लो समय आफ्नो प्रभाव अफ्रिकातर्फ विस्तार गर्न खोजिरहेको बताएका छन् । द्वन्द्व निगरानी संस्था (एक्लेड) का अनुसार सन् २०२६ को पहिलो तीन महिनामा आईएसआईएसका विश्वव्यापी गतिविधिमध्ये ८६ प्रतिशत अफ्रिकामै केन्द्रित थिए ।
विशेषगरी ताल चाड बेसिन क्षेत्र लामो समयदेखि हिंसात्मक गतिविधिको केन्द्र बन्दै आएको छ । त्यहाँ बोको हराम र आईएसडब्लुएपीजस्ता समूहले निरन्तर आक्रमण र विद्रोही गतिविधि सञ्चालन गर्दै आएका छन् ।
(अन्तराष्ट्रिय संचारमाध्यमको सहयोगमा तयार पारिएको)
