`

नेपालीको टाउकोमा ३० खर्ब ऋण

Nepal One HD ६ जेठ २०८३ १२:३६
अर्थ समाचार

काठमाडौं । सरकारको सार्वजनिक ऋण झन्डै ३० खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म देशको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ४ करोड रुपैयाँ पुगेको हो ।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा मात्रै सार्वजनिक ऋण ५ खर्ब ३२ अर्ब ९१ करोड रुपैयाँले बढेको छ । सोही अवधिमा सरकारले २ खर्ब ३१ अर्ब ९२ करोड रुपैयाँ साँवा भुक्तानी गरेपछि कुल ऋणको खुद वृद्धि ३ खर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो । वैशाखसम्म आइपुग्दा आन्तरिक ऋण १३ खर्ब ८१ अर्ब २२ करोड रुपैयाँ र बाह्य ऋण १५ खर्ब ९३ अर्ब ८१ करोड रुपैयाँ पुगेको कार्यालयले जनाएको छ ।

यस वर्ष अमेरिकी डलरको मूल्य वृद्धि हुँदा विनिमय दरको प्रभावले बाह्य ऋण थप महँगो बनेको छ । विनिमय दरकै कारण बाह्य ऋण दायित्वमा मात्रै १ खर्ब ६७ अर्ब ७५ करोड रुपैयाँ थपिएको कार्यालयको भनाइ छ ।

चालु आर्थिक वर्षको वैशाखसम्म सरकारले कुल ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको छ । त्यसमध्ये २ खर्ब ९८ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक ऋण र ६६ अर्ब ४९ करोड रुपैयाँ बाह्य ऋण रहेको छ ।

ऋणको साँवा र ब्याज भुक्तानीमा पनि सरकारको ठूलो रकम खर्च भइरहेको छ । १० महिनाको अवधिमा सरकारले कुल २ खर्ब ९२ अर्ब ५२ करोड रुपैयाँ ऋण सेवा खर्च गरेको छ । यसमध्ये २ खर्ब ३१ अर्ब ९२ करोड रुपैयाँ साँवा भुक्तानी र ६० अर्ब ५९ करोड रुपैयाँ ब्याज भुक्तानीमा खर्च भएको हो ।

आन्तरिक ऋणतर्फ सरकारले १ खर्ब ८५ अर्ब ६६ करोड रुपैयाँ साँवा र ५० अर्ब ५२ करोड रुपैयाँ ब्याज तिरेको छ । बाह्य ऋणतर्फ ४६ अर्ब २५ करोड रुपैयाँ साँवा तथा १० अर्ब ६ करोड रुपैयाँ ब्याज भुक्तानी गरिएको छ ।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो सात वर्षमा नेपालको सार्वजनिक ऋण झन्डै दोब्बर भएको छ । आर्थिक वर्ष २०७६/७७ सम्म १४ खर्ब ३३ अर्ब ४० करोड रुपैयाँ रहेको सार्वजनिक ऋण अहिले बढेर झन्डै ३० खर्ब रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *