बाँदर आतंक नियन्त्रणबारे बालेन सरकारले जवाफ नदिए संसद चल्न गाह्रो हुन्छ : राई(भिडियाे)
काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले बाँदर आतंक नियन्त्रणबारे सरकार गम्भीर नभएको भन्दै एक साताभित्र ठोस जवाफ मागेका छन् । जवाफ नआए संसद् बैठक चल्न नदिने चेतावनी दिएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बिहीबार बोल्दै उनले देशका विभिन्न क्षेत्रमा बाँदरको आतंकले जनजीवन कष्टकर बनेको बताए । धनकुटा नगरपालिका–९ की सुनिता राईले बिहीबार बिहान आफूलाई फोन गरेर बाँदरले बच्चाको लुगासमेत लगिदिएको गुनासो गरेको प्रसंग सुनाउँदै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘बाँदरले भात खान पनि दिँदैन, बच्चाको लुगा पनि लगिदियो, अब के गर्ने भनेर उहाँले मलाई प्रश्न गर्नुभयो,’ सांसद राईले भने, ‘मैले यसको जवाफ कसरी दिने ?’
उनले बाँदर आतंकका कारण किसानले दुःख गरेर लगाएको अन्नबाली जोगाउन नसकेको, मानिसहरू ढुक्कले खाना खान नपाएको र गाउँबस्तीमा त्रास बढेको बताए ।
सरकारले विकासका ठूला योजना अघि सारे पनि जनताको दैनिक जीवनसँग जोडिएको समस्या समाधानमा बेवास्ता गरेको भन्दै उनले असन्तुष्टि जनाए । ‘यदि कुनै मानिसले बदमासी गर्यो भने प्रहरीले तुरुन्त नियन्त्रणमा लिन्छ । तर बाँदरले सयौं मानिसको दैनिकी प्रभावित बनाउँदा सरकार मौन छ,’ उनले भने ।
सांसद राईले बाँदर नियन्त्रण तथा व्यवस्थापनका लागि तत्काल प्रभावकारी योजना ल्याउन सरकारसँग माग गरे ।
साथै सात दिनभित्र सरकारले स्पष्ट जवाफ र समाधानको पहल नगरे सदनमै ठूलो बहस हुने चेतावनी दिए ।
‘अब सात दिनभित्र बाँदर समस्याको समाधानबारे सरकारले जवाफ दिएन भने सदन चल्न गाह्रो हुन्छ,’ उनले भने, ‘कानुनी वा प्रशासनिक जुनसुकै माध्यमबाट भए पनि सरकारले यो समस्या नियन्त्रण गर्नुपर्छ ।’
