सांसद केसीको कटाक्ष : प्रधानमन्त्री कुनै टापुको सम्राट हो कि संसद्को अभिन्न अङ्ग हो ?
काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)संसद्प्रति जवाफदेही नभएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको भूमिका र संसद्प्रतिको सम्बन्धबारे प्रश्न उठाएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्री नै अहिले गृह मन्त्री हुनुहुन्छ। गृह मन्त्रालयले अत्यन्त गम्भीरतापूर्वक लिनुपर्ने विषय हो। अब उहाँ नै गृह मन्त्री हुनुहुन्छ, उहाँ स्वयं यो संसद्को अङ्ग हो कि होइन मैले थाहा पाएको छैन। उहाँ भिन्दै साम्राज्यको कतैको टापुको सम्राट हो कि यो संसद्को नै अभिन्न अङ्ग हो, त्यतातिर पनि म ध्यानाकर्षण गर्न चाहन्छु।’
सांसद केसीले सरकारले संसद्प्रति जवाफदेही हुनुपर्ने आवश्यकता औँल्याउँदै मनसुन नजिकिँदै गएको अवस्थामा पूर्वतयारीलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
उनले विगतका वर्षहरूमा भएको क्षतिको पुनरावृत्ति रोक्न योजनाबद्ध रूपमा काम गर्न सरकारलाई आग्रह गरे ।
उनका अनुसार क्षति न्यूनीकरणका लागि विगतका कमजोरीबाट पाठ सिक्दै दीर्घकालीन कार्ययोजना आवश्यक छ, नत्र समस्या दोहोरिने खतरा रहन्छ ।
