टेस मिसन : भेटियो ६ हजार बढी नयाँ ग्रह ?
एजेन्सी। नासाको बाह्यग्रह खोज्ने अन्तरिक्ष यान ‘ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइट (टेस)’ ले पृथ्वी वरिपरिको आकाशको अहिलेसम्मकै ठूलो खोज सार्वजनिक गरेको छ। यस नक्सामा हाम्रो सौर्यमण्डल बाहिरका करिब ६,००० सम्भावित नयाँ ग्रहहरूको पहिचान गरिएको छ।
यो तथ्यांक सन् २०२५ सेप्टेम्बरसम्म टेस मिसनको दोस्रो विस्तारित चरण सम्पन्न भएपछि संकलन गरिएको हो। टेस सन् २०१८ अप्रिलमा केप क्यानाभेरलस्थित अन्तरिक्ष प्रक्षेपण केन्द्र-४० बाट प्रक्षेपण गरिएको थियो।
नासाको गोडार्ड अन्तरिक्ष उडान केन्द्रकी टेस सह-परियोजना वैज्ञानिक रेबेका होउनेलका अनुसार, टेस विगत आठ वर्षमा बाह्यग्रह अनुसन्धानका लागि अत्यन्त महत्वपूर्ण स्रोत बनेको छ। उनका अनुसार, ‘यो मिसन ‘अत्यधिक ठूलो डेटा प्रवाह’ जस्तै भएको छ। जसले बुध ग्रहजस्ता साना ग्रहदेखि बृहस्पति भन्दा पनि ठूला ग्रहसम्मका विविध खगोलीय पिण्डहरू फेला पार्न सहयोग गरेको छ।’
टेस मिसनले ग्रहहरूलाई तिनीहरूका ताराको अगाडि जाँदा हुने अत्यन्त सानो प्रकाश घटावट (ट्रान्जिट) अध्ययन गरेर पहिचान गर्छ। यस प्रक्रियामा हजारौँ ताराहरूको प्रकाशलाई निरन्तर रूपमा विश्लेषण गरिन्छ। जसबाट ग्रहको उपस्थिति अनुमान गर्न सकिन्छ।
नयाँ प्रकाशित सम्पूर्ण आकाशीय नक्सा ९६ वटा आकाशीय क्षेत्रहरूको अवलोकनमा आधारित छ, जुन सन् २०१८ अप्रिलदेखि २०२५ सेप्टेम्बरसम्म संकलन गरिएको हो। यस नक्सामा करिब ७०० पुष्टि भएका बाह्यग्रहहरू देखाइएका छन् भने बाँकी हजारौँ ‘सम्भावित ग्रह’ अझै पुष्टि हुन बाँकी रहेका छन्।
वैज्ञानिकहरूका अनुसार यीमध्ये केही ग्रहहरू अत्यन्तै अनौठा छन्। केही आफ्नै ताराबाट नष्ट भइरहेका छन्। भने केही ग्रहहरू अत्यधिक ज्वालामुखीय गतिविधिले प्रभावित छन्। यस्ता अवस्थाहरूले ग्रहहरूको जीवनचक्र बुझ्न नयाँ संकेत दिन सक्ने विश्वास गरिएको छ।
टेस मिसनले हालै मात्र यस्तो ग्रह प्रणाली पनि पत्ता लगाएको छ। जसमा ‘सुपर-पृथ्वी’ र अर्को ग्रह अत्यधिक झुकेको र अण्डाकार कक्षामा घुमिरहेका छन्।
साथै, दुई ग्रहहरू आपसमा ठोक्किएर ठूलो धुलो-ग्यासको बादल बनाएको प्रमाण पनि फेला परेको छ। जसले सम्भवतः पृथ्वी र अन्य खगोलीय पिण्डबीचको पुरानो टक्करबारे बुझ्न मद्दत गर्न सक्छ। त्यही घटनाबाट चन्द्रमाको उत्पत्ति भएको हुनसक्ने वैज्ञानिकहरूको अनुमान छ।
नासाका टेस परियोजना वैज्ञानिक एलिसन यङब्लडका अनुसार, ठूलो तथ्यांकको विश्लेषण गर्दै जाँदा अझ धेरै आश्चर्यजनक तथ्यहरू फेला पर्ने सम्भावना हुन्छ। उनका अनुसार टेसले केवल ग्रह मात्र होइन, युवा ताराहरूको गतिविधि, आकाशगङ्गीय परिवर्तन, तथा पृथ्वी नजिकका क्षुद्रग्रहहरूको निगरानीमा पनि महत्वपूर्ण योगदान दिइरहेको छ।
