`

फेरि किन सम्झिए नेपालीहरुले सुवास नेम्बाङ र दमननाथ ढुंगाना ?

समिन बरुवाल ८ जेठ २०८३ ९:०६
फिचर

काठमाडौं । प्रतिनिधि सभा बैठकमा बिहीबार सभामुख डोलप्रसाद अर्यालले एमाले प्रमुख सचेतक ऐन महरलाई लक्षित गर्दै गरेको अभिव्यक्तिपछि उनको भूमिकामाथि चौतर्फी आलोचना सुरु भएको छ । र, त्यही आलोचनाबीच नेपालीहरूले पूर्वसभामुख सुवास नेम्बाङदमननाथ ढुंगानालाई स्मरण गर्न थालेका छन् ।

घटना बिहीबारको प्रतिनिधि सभा बैठकको हो । प्रतिनिधि सभा नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमबारे बोल्न समय माग्दै एमाले प्रमुख सचेतक महर उठेका थिए । त्यही बेला सभामुख अर्याल झोँकिए । उनले आक्रोशित शैलीमा भने, ‘माननीय सदस्य ऐन महरलाई कति घण्टा चाहिन्छ बोल्न ?’

सभामुखको आसनबाट आएको यो अभिव्यक्तिलाई प्रतिपक्षी दलहरूले अमर्यादित, असंसदीय र असहिष्णु व्यवहारको रूपमा व्याख्या गरेका छन् । आलोचकहरूका अनुसार यो सभामुखले आफ्नो संयमता गुमाएको क्षण थियो ।

संसदीय अभ्यासमा सत्ता र प्रतिपक्षबीच नोकझोक हुनु स्वाभाविक मानिन्छ । तर, त्यस्तो अवस्थामा सभामुखको भूमिका मध्यस्थकर्ता, संयोजक र सन्तुलनकर्ता हुने गर्छ । सभामुखबाट तटस्थता र धैर्यता अपेक्षा गरिन्छ । तर, बिहीबारको घटनाले सभामुख अर्याल प्रतिपक्षप्रति आक्रामक र सत्तापक्षप्रति नरम देखिएको टिप्पणी हुन थालेको छ ।

पछिल्ला दिनमा प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा अनुपस्थितिका विषयमा प्रतिपक्षले लगातार प्रश्न उठाइरहेको छ । प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिलाउनुपर्ने माग विपक्षी दलहरूको छ । तर, सभामुख अर्यालले पटक–पटक ‘ध्यानाकर्षण भएको छ’ भन्दै कार्यसूची अघि बढाइरहेका छन् । यही कारण उनको भूमिकामाथि ‘सत्तानुकूल’ भएको आरोप चर्किँदै गएको छ ।

बिहीबारको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा एउटा पुरानो भिडियो भाइरल हुन थाल्यो । त्यो भिडियो संविधान सभा अध्यक्ष सुवास नेम्बाङ र तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापाबीचको संवादको थियो ।

भिडियोमा नेम्बाङ सभामुखको आसनमा छन् भने कमल थापा रोष्ट्रममा उभिएर सार्वजनिक महत्वको प्रस्तावमाथि बोलिरहेका छन् । समय सकिएपछि नेम्बाङ मुस्कुराउँदै भन्छन्, ‘माननीय सदस्य, समय सकियो ।’

थापा मुस्कुराउँदै जवाफ दिन्छन्, ‘मैले सक्न लागेँ सभामुख महोदय ।’

त्यसपछि नेम्बाङ हल्का ठट्टामिश्रित शैलीमा भन्छन्, ‘सक्न लाग्यो भन्या त धेरै अघि हो माननीय सदस्य, अब त सक्नुपर्ने पो त ।’

त्यसपछि थापा झोँक्किन्छन् । उनी प्रस्ताव टेबुल नगरी फर्किन्छन् र सदनमा तनाव उत्पन्न हुन्छ । राप्रपा नेपालका सांसदहरू वेलतिर अघि बढ्छन् । तर, त्यस्तो तनावपूर्ण अवस्थालाई नेम्बाङले अत्यन्त शालीन, भद्र र संयमित शैलीमा व्यवस्थापन गर्छन् ।

यही भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेको छ । धेरैले टिप्पणी गरिरहेका छन्- ‘सभामुख भनेको यस्तो हुनुपर्छ ।’

नेम्बाङको सभामुखीय शैली अहिले पुनः चर्चामा आउनुको कारण पनि यही हो । संविधान निर्माणजस्तो जटिल र संवेदनशील प्रक्रियामा उनले देखाएको धैर्यता, समन्वय क्षमता र सहनशीलताले उनलाई सफल सभामुखका रूपमा स्थापित गरेको मानिन्छ।

संविधानसभाभित्र चरम राजनीतिक ध्रुवीकरण, दलहरूबीच गम्भीर अविश्वास र पटक-पटकको अवरोधका बीच पनि उनले सदन सञ्चालनलाई नियन्त्रणबाहिर जान दिएनन् । राजनीतिक वृत्तमा अहिले पनि भनिन्छ- नेम्बाङको संयमता र सुझबुझबिनाको अवस्थामा संविधान जारी गर्न झन् कठिन हुने थियो ।

यतिबेला सभामुख अर्यालको शैलीसँग तुलना गर्दै धेरैले नेम्बाङको उदाहरण स्मरण गरिरहेका छन् ।

त्यसैगरी २०४८ पछिको संसदीय इतिहासका चर्चित सभामुख दमननाथ ढुंगानालाई पनि अहिले पुनः सम्झिन थालिएको छ । संसदीय मर्यादा, प्रतिपक्षप्रतिको सम्मान र लोकतान्त्रिक संस्कृतिको अभ्यासका कारण ढुंगानाको नाम अझै उदाहरणका रूपमा लिइन्छ ।

त्यसबेला नेकपा एमालेका सांसद विरोध खतिवडा सरकारका खरो आलोचक मानिन्थे । सदनमा बारम्बार विरोध गरिरहने खतिवडालाई लक्षित गर्दै सभामुख ढुंगानाले एकपटक भनेका थिए, ‘माननीय सदस्यको नामै विरोध, विरोध गरिरहनुहोस् । मेरो नामै दमन, म दमन गरिरहन्छु ।’

यो अभिव्यक्तिलाई अहिले पनि संसदीय विनोद, सहिष्णुता र लोकतान्त्रिक संस्कारको उदाहरणका रूपमा सम्झिने गरिन्छ । ढुंगानाले प्रतिपक्षलाई स्थान दिने, आलोचना सुन्ने र तनावलाई हास्य तथा संवादमार्फत व्यवस्थापन गर्ने शैली अपनाएको राजनीतिक वृत्तमा चर्चा हुने गर्छ ।

तर, अहिलेको प्रतिनिधि सभा बैठकमा देखिएको दृश्य भने फरक रहेको टिप्पणी भइरहेको छ । प्रतिपक्षी दलहरू वेल घेराउ गरिरहेका बेला सभामुख अर्यालले आक्रामक शैलीमा प्रस्तुत भएको, विरोधलाई बेवास्ता गर्दै कार्यसूची अघि बढाएको र प्रतिपक्षप्रति असहिष्णु व्यवहार देखाएको आरोप छ ।

संसदीय मामिलाका जानकारहरुका अनुसार सभामुखको आसन प्रक्रिया चलाउने पद मात्र होइन, लोकतान्त्रिक विश्वासको केन्द्र पनि हो । त्यहाँ बस्ने व्यक्तिले संयमता गुमाउँदा सदनको वातावरण झन् तनावपूर्ण बन्न सक्छ । अहिले सभामुख अर्यालमाथि उठिरहेको आलोचनाको मूल कारण पनि यही हो ।

सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले लेखिरहेका छन्- ‘सभामुखको कुर्सीमा बस्नु र सभामुखजस्तो देखिनु फरक कुरा हो ।’

संसदीय अभ्यासमा सभामुखको मूल्यांकन नियम पढेर बैठक चलाए/नचलाएको आधारमा हुँदैन । कठिन परिस्थितिमा उनले कति धैर्यता देखाए, प्रतिपक्षलाई कति सम्मान दिए र तनावलाई कसरी व्यवस्थापन गरे भन्ने आधारमा इतिहासले सम्झिन्छ ।

यही कारण अहिलेको विवादबीच नेपालीहरूले फेरि सुवास नेम्बाङ र दमननाथ ढुंगानालाई सम्झिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *