`

एकैदिन १० संसदीय समितिको बैठक आज

Nepal One HD ८ जेठ २०८३ ९:३५
राजनीति

काठमाडौं । आज एकैदिन १० वटा संसदीय समितिको बैठक बस्दैछन् ।  प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयमा उपसमितिहरूले सुझाव पेश गर्ने कार्यसूची रहेको छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा नेपालका कारागार तथा प्रहरी हिरासतमा रहेका कैदीबन्दी तथा थुनुवाको मानव अधिकार अवस्थाबारे गृह मन्त्रालयसँग छलफल हुने जनाइएको छ ।

पूर्वाधार विकास समितिको बैठक बिहान ९ बजे बस्दैछ । बैठकमा मध्यपूर्वमा जारी युद्धका कारण सार्वजनिक पूर्वाधार निर्माणमा परेको प्रभावबारे छलफल हुनेछ ।यस्तै, बिहान ११ बजेलाई तोकिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज २ बजे बस्दैछ । बैठकको कार्यसूची भने खुलाइएको छैन ।

महिला तथा सामाजिक मामिला समितिले नेपाल सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका सम्बन्धमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रीसँग छलफल गर्नेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा बनेपास्थित विस्थापित सुकुम्बासी होल्डिङ सेन्टरको अनुगमनबाट देखिएका विषय तथा विपद् व्यवस्थापनसम्बन्धी सरकारी तयारीबारे छलफल हुने कार्यसूची छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सूचना तथा सञ्चार मन्त्रालयको विद्यमान अवस्था र भावी कार्ययोजनाबारे छलफल गर्नेछ ।सार्वजनिक लेखा समितिको बैठकमा महालेखापरीक्षकसँग बेरुजु फस्र्यौट सम्बन्धमा छलफल गरिनेछ ।यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिले आगामी आर्थिक वर्षको बजेट तर्जुमाबारे अर्थमन्त्रीसँग छलफल गर्नेछ ।

राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा समितिको कार्यविधि पारित गर्ने, लैङ्गिक असमानता अध्ययन उपसमितिको प्रगति विवरणमाथि छलफल गर्ने तथा अन्य उपसमिति गठनका विषयमा निर्णय गरिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *