‘लालीबजार’ले कति कमायो ?
काठमाडौं । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ आजबाट तेस्रो सातामा प्रवेश गरेको छ । निर्माण कम्पनी षट्कोण आर्ट्सका अनुसार फिल्मले हालसम्म ५ करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ ।
कम्पनीका सीईओ म्याक्स दीपेश खत्रीले जेठ ७ गते राति ११:५९ बजेसम्म उक्त कमाइ भएको जानकारी दिएका हुन् । उनका अनुसार पहिलो साताको तुलनामा दोस्रो सातामा करिब १० प्रतिशत बढी दर्शकले फिल्म हेरेका छन् ।
देशका विभिन्न सहरमा दर्शकसँग भेटघाटमा सहभागी भएकी अभिनेत्री स्वस्तिमा खड्काले फिल्मप्रति दर्शकको माया देशभर समान रूपमा पाएको बताएकी छन् । उनले दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको उल्लेख गरिन् ।
फिल्मको कथा, निर्देशन र कलाकारहरूको अभिनयलाई दर्शकले प्रशंसा गरिरहेका छन् । धेरै दर्शकले फिल्मले आमाको संघर्ष र पारिवारिक भावनासँग आफूलाई जोडेको प्रतिक्रिया दिएका छन् । निर्माण पक्षले सकारात्मक ‘वर्ड अफ माउथ’ का कारण आगामी विकेन्डमा दर्शक संख्या अझ बढ्ने अपेक्षा गरेको छ ।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी र कुन्टललगायत कलाकारको अभिनय रहेको छ ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले अभिनय यात्रा सुरु गरेका छन् । विशाल रंगमञ्चमा सक्रिय कलाकार हुन् भने प्रसंशा ‘जेनजी’ पुस्ताकी अभिनेत्रीका रूपमा परिचित छिन् ।
निर्देशक यम थापाको कथा तथा निर्देशन रहेको फिल्मको पटकथा र संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्ममा प्रदीप भट्टराई कार्यकारी निर्माता रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन् ।
